ट्रम्पले विश्वका अरु देशहरुलाई कोरोनाभाइरसबारे ढाँटेको आरोप लगाए

डिसी नेपाल
४ वैशाख २०७७ १०:०१

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका अरु देशहरुले कोरोनाभाइरसबारे ढाँटेको आरोप लगाएका छन् । अहिले अमेरिका विश्वमै कोरोनाभाइरसका कारण सबैभन्दा धेरैको मृत्यु हुने देश बनेको छ । तर, राष्ट्रपति ट्रम्पले भने अरु देशहरुले मृत्यु हुनेको सही संख्या लुकाएको आरोप लगाएका हुन् । ‘तपाइँले यी देशहरुबाट सही संख्या पाइरहनुभएको छ भन्ने पत्याउनका लागि के यीमध्ये केही देशका संख्या कसैले पत्याउँछ ?’ ह्वाइटहाउसको रोज गार्डेनमा आयोजित प्रेस कन्फ्रेन्समा ट्रम्पले भने ।

अहिले विश्वभर कोरोनाभाइरसबाट जतिको मृत्यु भइसकेको छ तीमध्ये २० प्रतिशतको मृत्यु अमेरिकामा मात्र भएको छ । जबकि अमेरिकाको जनसंख्या कूल विश्वको जनसंख्याको ४ प्रतिशत मात्र छ । कोरोनाभाइरसको महामारीले बुधबार २ मिलियनको ‘मार्क’ पार गरेको छ र विश्वव्यापी रुपमा १ लाख ३० हजारको मृत्यु भइसकेको छ । ट्रम्पले मुख्य गरी चीनलाई इंगित गरे । यद्यपि ट्रम्पले चीनलाई आक्रमण गरेको यो पहिलो पटक होइन । चीनले पारदर्शीता नदेखाएको र कोरोनाभाइरसको तथ्यांक लुकाएको उनले यसअघि कैयौं पटक आरोप लगाउँदै आएका छन् ।

‘के तपाइँलाई लाग्छ चीन भनिने त्यति ठूलो देशमा संक्रमितको संख्या त्यति कम थियो ? के कसैले त्यसलाई साँच्चै विश्वस गर्छ ?’ ट्रम्पले भने । चीनले आफ्नो देशमा ८२ हजार २९५ जना संक्रमित भएको र ३ हजार ३४२ जनाको मृत्यु भएको आधिकारिक तथ्यांक दिएको छ । पश्चिमा देशहरुले यो तथ्यांकलाई विश्वास नगरी बेइजिङमाथि महामारीको वास्तविक संख्या लुकाएको आरोप लगाइरहेका छन् । राष्ट्रपति ट्रम्पले पनि अमेरिकाले आफ्नो देशमा कोरोनाभाइरसका कारण भएका मृत्युको सही संख्या सार्वजनिक गरेको जिकिर गरे ।

‘हामी सबै कुरा रिपोर्टङ गर्छौं, हामी केसहरु रिपोर्ट गर्छौं र हाम्रो रिपोर्टिङ राम्रो छ, हामी प्रत्येक मृत्यु रिपोर्टिङ गरिरहेका छौं’ ट्रम्पले भने । शनिबार अमेरिकाको मृत्यु संख्याले इटलीलाई उछिनेको थियो । अमेरिकामा २८ हजारभन्दा धेरैको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ । ट्रम्पले चीनको संख्या शंकास्पद भइरहेको भन्दै गर्दा रिपोर्टरहरुले इरान, रुस र उत्तर कोरियाको संख्याबारे पनि सोधेका थिए । ‘केही देशहरु ठूलो संकटमा छन् तर उनहिरुले सत्य बताएका छैनन् । मलाई यत्ति थाहा छ हामी सत्य बताउँछौं र हामी त्यो देश हौं जो सुधार हुँदै गइरहेका छौं’ ट्रम्पले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *