बस ड्राइभरकी छोरी, १६ वर्षमै स्कुल छाडेकीः कोरोनाभाइरस पत्ता लगाउने वैज्ञानिक को थिइन् ?

डिसी नेपाल
४ वैशाख २०७७ १४:५७

काठमाडौं। मानिसमा कोरोनाभाइरसको खोजी गर्ने वैज्ञानिक स्कटल्याण्डका एक बस ड्राइभरकी छोरी थिइन जसले १६ वर्षको उमेरमै स्कुल छाडेकी थिइन् । उनको नाम जून अलमेडा थियो र उनी भाइरस इमेजिङ क्षेत्रका चर्चित व्यक्तिहरुको सूचीमा आफ्नो नाम लेख्न चाहन्थिन् । तर, कोभिड १९ महामारीको समयमा जूनको कामको चर्चा भइरहेको छ र उनको खोज चर्चाको केन्द्रमा छ ।

कोभिड १९ एक नयाँ भाइरस हो तर यो कोरोनाभाइरसकै एक प्रकार हो जसको खोज डा. अलमोडाले सबैभन्दा पहिले सन. १९६४ मा लण्डनको सेन्ट थोमस अस्पतालस्थित प्रयोगशालामा गरेकी थिइन् । भाइरोलोजिस्ट जून अलमेडाको जन्म १९३० मा भएको थियो । स्कटल्याण्डको ग्लासगो शहरको उत्तर पूर्वमा स्थित एक बस्तीमा बस्ने निकै साधारण परिवारमा उनको जन्म भएको थियो ।

१६ वर्षको उमेरमा स्कुलको पढाइ पूरा गरेपछि जूनले ग्लासगो शहरकै एक ल्याबमा टेक्निसियनको रुपमा जागिर गर्न थालेकी थिइन् । पछि उनी नयाँ सम्भावनाहरु खोज्नको लागि लण्डन गइन् र १९५४ मा उनले भेनेजुएलाका कलाकार एनरिके अलमेडासँग विवाह गरिन् । मेडिकल क्षेत्रका लेखक जर्ज विन्टरका अनुसार विवाहको केही वर्षपछि यो दम्पती सानी छोरीको साथमा क्यानडाको टोरन्टो गएका थिए ।

क्यानडाकै ओन्टारियो क्यान्सर इन्ष्टिच्युटमा डा. जून अलमेडाले एक इलेक्ट्रोन माइक्रोस्कोपको साथमा आफ्नो उत्कृष्ट कौशललाई विकसित गरेकी थिइन् । यो संस्थानमा काम गर्दै गर्दा उनले एक यस्तो विधिमा दक्षता हासिल गरेकी थिइन् जसको सहयोगले भाइरसको कल्पना गर्न निकै सहज भएको थियो ।

लेखक जर्ज विन्टरले बीबीसीसँग भने ‘बेलायतले डा. जून अलमेडाको कमको महत्व बुझ्यो र १९६४ मा उनीसामु लण्डनको सेन्ट थोमस मेडिकल स्कुलमा काम गर्ने प्रस्ताव राख्यो ।’ यो त्यही अस्पताल हो जहाँ कोभिड १९ बाट संक्रमित भएपछि बेलायती प्रधानमन्त्री बोरिस जोनसनको उपचार भएको थियो । क्यानडाबाट फर्केपछि डा. जूनले डा. डेभिड टायरेलसँग मिलेर अनुसन्धानको काम गर्न सुरु गरिन् । त्यतिबेला उनीहरुले बेलायतको सेलिस्बरी क्षेत्रमा सामान्य रुघाखोकीको विषयमा शोध गरिरहेका थिए ।

जर्ज विन्टरका अनुसार डा. टायरेलले रुघाको क्रममा नाकबाट बग्ने तरल पदार्थका कैयौं नमूना जम्मा गरेका थिए र उनको टिमका सदस्यले लगभग सबै नमूनामा सामान्य रुघाखोकीमा देखिने भाइरस देखिरहेका थिए । तर यीमध्ये एउटा नमूना जसलाई बी ८१४ नाम दिइएको थियो र यो नमूना १९६० मा एक बोर्डिङ स्कुलका छात्राबाट लिइएको थियो, यो अरु सबैभन्दा फरक थियो ।

डाक्टर टायरेलले उक्त नमूनाका परीक्षण गर्न चाहे । यसका लागि उनले डाक्टर जून अलमेडाको मद्दत लिने सोचे । उक्त स्याम्पल परीक्षणका लागि डाक्टर अलमेडालाई पठाइयो जसले परीक्षणपछि भनिन्, ‘यो भाइरस इन्फ्लूएन्जाजस्तो देखिन्छ तर यो त्यो होइन, यो निकै भिन्न छ ।’

र यो त्यहि भाइरस हो जसको पहिचान पछि डाक्टर जून अलमेडाले कोरोनाभाइरसको रुपमा गरिन् । जर्ज विन्टरले भने, ‘डाक्टर अलमेडाले वास्तवमा यो भाइरसजस्तो कण योभन्दा अघि मुसामा पाइने हेपिटाइटिस र कुखुरामा हुने संक्रमित रोग ब्रोन्काइटिसमा देखेकी थिइन् ।’

विन्टरका अनुसार डाक्टर जूनको पहिलो रिसर्च पेपर खारेज गरियो । उनले इन्फ्लूएन्जा भाइरसकै खराब तस्बिर पेश गरेको भन्दै उनको उक्त रिसर्च पेपर रद्द गरिएको थियो ।

तर स्याम्पल संख्या बी–८१४ माथि गरिएको यो नयाँ अनुसन्धानलाई सन् १९६५ मा प्रकाशित भएको ब्रिटिश मेडिकल जर्नलमा र त्यसको दुई वर्षपछि जर्नल अफ जेनरल वायरोलोजीमा तस्बिरसहित प्रकाशित गरियो ।

जर्ज विन्टरका अनुसार डाक्टर टायरेल, डाक्टर अलमेडा र सेन्ट थोमस मेडिकल संस्थानका प्राध्यापक टोनी वाटरसनले यो भाइरसको अग्लो–होचो बनावट देखेरै यसको नाम कोरोनाभाइरस राखेका थिए ।

पछि जून अलमेडाले लण्डनको पोस्टग्रेजुएट मेडिकल कलेजमा काम गरिन् । त्यहिँबाट उनले आफ्नो डक्ट्रेटको पढाई पनि पूरा गरिन् । आफ्नो करियरको अन्तिम दिनमा डाक्टर जून अलमेडा वेलकम इन्स्टिच्युटमा थिइन् जहाँ उनले इमेजिङमार्फत् थुप्रै नयाँ भाइरसको पहिचान गरिन् ।

वेलकम इन्स्टिच्युटबाट अवकाश लिएपछि डाक्टर अलमेडा योगा शिक्षिका बनेकी थिइन् ।

तर सन् १९८० को दशकमा उनलाई संरक्षकको रुपमा एचआइभी भाइरसको नोवल तस्बिर लिनका लागि बोलाइएको थियो ।

सन् २००७ मा जून अलमेडाको निधन भयो । त्यतिबेला उनी ७७ वर्षकी थिइन् ।

अब उनको मृत्यु भएको १३ वर्ष बितिसकेको छ र उनको कामले अहिले मान्यता पाइरहेको छ जसको उनी हकदार थिइन् । एक उत्कृष्ट अनुसन्धानकर्ताको रुपमा उनको स्मरण गरिँदैछ किनभने उनको अनुसन्धानकै कारण अहिलेको समयमा संसारभरी फैलिरहेको कोरोनाभाइरसको संक्रमण बुझ्न मद्दत पाइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *