कोरोनाभाइरसको संक्रमण भए–नभएको खोकीको आवाजबाटै पहिचान हुने

डिसी नेपाल
४ वैशाख २०७७ १५:४६

काठमाडौं। बिरामीमा कोरोनाभाइरसको संक्रमण भए नभएको पहिचान गर्नको लागि वैज्ञानिकहरुले कैयौं तरिका अपनाइरहेका छन् । एन्टिबडी टेस्ट, पीसीआर टेस्ट लगायतका विभिन्न तरिकाले संक्रमणको जाँच भइरहेको छ । अहिलेसम्म प्रयोग गरिएका जाँचका विधिमा चिकित्सक पनि संक्रमित हुने खतरा रहन्छ । तर, अब भने यस्तो पद्धति विकसित हुँदैछ जुन विधिले बिरामीको खोकीको आवाजबाटै उसलाई कोरोनाभाइरस संक्रमण भए नभएको पहिचान हुनेछ ।

यसरी आवाजबाटै भाइरस संक्रमणको पहिचान गर्ने अनुसन्धान भारतमा भाइरहेको छ । इण्डिया टाइम्सका अनुसार बैंगलोरस्थित इण्डियन इन्ष्टिच्युट अफ साइन्स (आइआइएससी)का वैज्ञानिकहरुले सास र खोकीबाट उत्पन्न हुने आवाजका तरंगहरुबाट कोरोनाभाइरसको संक्रमण भए नभएको जाँच गर्नको लागि एक उपकरण विकसित गरिरहेका छन् । यो उपकरणले प्रयोगको अनुमति पाएपछि यसबाट बिरामीको जाँच गरिनेछ र बिरामी कोरोनाभाइरस भए नभएको पहिचान गर्न सकिनेछ ।

यो उपकरणबाट जाँच गर्दा स्वास्थ्यकर्मीहरु संक्रमित हुने खतरा कम हुनेछ । यसबाट स्वास्थ्यकर्मी खतरामा नपर्दा स्वास्थ्य सेवा पनि थप प्रभावकारी हुनेछ । यतिमात्र होइन यो उपकरणबाट गरिएको जाँचको नतिजा पनि चाँडै आउनेछ । आइआइएससीका वैज्ञानिक ध्वनी विज्ञानको सहयोगले कोरोनाभाइरस को संक्रमणको बायोमार्कर पत्ता लगाउने कोसिस गरिरहेका छन् । वैज्ञानिकहरुले जाँचको लागि यो बायोमार्करको मात्रा निर्धारित गर्नेछन् । जब यो बायोमार्कर तय हुनेछ त्यसपछि बिरामी व्यक्तिको सास र खोकीको आवाज स्वस्थ व्यक्तिको भन्दा कति फरक छ भन्ने पत्ता लाग्नेछ ।

आइआइएससीका वैज्ञानिकहरुले कोरोनाभाइरसको संक्रमणका केसहरु लगातार बढिरहेकोले यसको जाँचको सरल, किफायती र छिटो जाँचको तरिका आवश्यक भएको महसुस गरी यो उपकरण बनाउन लागेको बताएका छन् । वैज्ञानिकहरुका अनुसार यो रोगको मुख्य लक्षणमध्ये सास सम्बन्धी समस्या पनि एक हो । त्यसैले यो अनुसन्धानको मुख्य उद्देश्य श्वासन तरंगहरुको सहयोगले रोगको बायोमार्कर पत्ता लगाउनु हो । यो टिममा ८ जना वैज्ञानिक छन् जसले आवाजमा आधारित प्रविधि विकसित गरिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *