कोरोना संक्रमण पहिचानमा नयाँ फड्को, रुघाखोकी, ज्वरोभन्दा पहिल्यै देखिन्छ यस्तो लक्षण

डिसी नेपाल
५ वैशाख २०७७ ८:३४

काठमाडौं। अहिलेसम्म कोरोनाभाइरसले मानिसको श्वास प्रश्वास प्रणालीमा आक्रमण गर्ने र श्वास प्रश्वास सम्बन्धी लक्षण नै देखिने पत्ता लागेको थियो । कोरोनाभाइरसका प्रमुख लक्षणहरुमा रुघाखोकी, ज्वरो, थकान, फ्लु वा केही किसिमका एलर्जीलाई मानिन्थ्यो । तर, वैज्ञानिकहरुले अनुसन्धान गर्दै जाँदा यसको अर्को नयाँ र अनौठो लक्षण पत्ता लगाएका छन् । रोचक त के भने यो लक्षण श्वास प्रश्वास प्रणालीसँग सम्बन्धित नभइ मानिसको खुट्टामा देखिन्छ ।

युरोपका डाक्टरहरुले कोरोनाभाइरसको संक्रमणपछि उपचार गराइरहेका बिरामीहरुमा यस्तो लक्षण फेला पारेको द सनको रिपोर्टमा उल्लेख छ । नयाँ लक्षणहरुको खोजी गर्नु निकै कठिन प्रक्रिया हो तर युरोपका डाक्टरहरुले यसमा सफलता हात पारेका छन् । सामान्य लक्षणका अलावा डाक्टरहरुले यसअघि गरेको खोजमा भाइरसबाट संक्रमितको सुँघ्ने शक्ति कमजोर हुने र स्वाद पाउने क्षमतामा पनि कमी आउने पत्ता लगाएका थिए । अहिले डाक्टरहरुले भाइरस संक्रमणपछि खुट्टामा देखिने लक्षण पत्ता लगाएका हुन् ।

अहिले भेटिएको नयाँ लक्षण भने निकै दर्दनाक र भयावह छ । कोरोनाभाइरसबाट संक्रमित बिरामीहरुको खुट्टाका औंलाहरुमाथि, औंलाहरुको बीचमा र पैतलामा साना साना रातो वा गुलाफी रंगका घाउहरु भेटिएका छन् । यी घाउहरु बिरामीमा भाइरसको संक्रमण हुँदासम्म देखिएका छन् र बिरामी पूर्णरुपमा स्वस्थ भएसँगै घाउहरु पनि हराएर गएका छन् । यी घाउको लागि छुट्टै उपचारको आवश्यकता भने परिरहेको छैन ।

स्पेनका डाक्टरहरुको संगठन जनरल काउन्सिल अफ कलेजेज अफ पेड्रियाट्रिस्ट (सीजीसीओपी) का अनुसार यी घाउहरु शरीरमा भाइरस भएको संकेत गर्ने प्रमुख लक्षण हो । यसलाई बिरामीलाई भाइरसले ग्रस्त बनाउनुभन्दा पहिलेको प्रमुख लक्षण मान्न सकिन्छ । पेड्रियाटिस्टहरु खुट्टासम्बन्धी रोगका विशेषज्ञ हुन्छन् । सीजीसीओपीका अनुसार यदि खुट्टामा साना साना राता वा गुलाफी घाउहरु देखिएका भाइरसको आक्रमण हुँदैछ भनेर बुझ्नुपर्छ ।

यी घाउहरु देखिएपछि बिरामीमा ती सबै लक्षणहरु देखिन्छन् जो यसअघि कोरोनाभाइरसका मुख्य लक्षण मानिएका छन् । युरोपेली डाक्टरहरुको यो खोजी कोरोनाभाइरसको उपचारमा वरदान सावित हुन सक्छ किनकि यो लक्षण भाइरसले आक्रमण गरेको सुरुवाती चरणमै देखिन्छ र चाँडै संक्रमण भएको थाहा पाउँदा उपचार पनि छिटो सुरु हुने भएकोले बिरामीले भाइरसलाई जित्न सक्ने सम्भावना उच्च हुन्छ ।

सीजीसीओपीले यो नयाँ लक्षणको बारेमा विश्वभरका डाक्टरहरुलाई थाहा होस् र डाक्टरहरु भाइरस संक्रमणको पहिचानका लागि रुघाखोकी र ज्वरोमा मात्र सीमित नहोउन् भनेको छ । सीजीसीओपीका अनुसार यो लक्षण युरोपका अधिकांश बिरामीमा देखिएको छ । जो बिरामीमा यो लक्षण देखियो ती सबै कोरोनाभाइरस संक्रमित थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *