निको भइसकेका बिरामी फेरि संक्रमित कसरी भए ? दक्षिण कोरियाकै वैज्ञानिकले खोजे जवाफ

डिसी नेपाल
५ वैशाख २०७७ ९:४५

काठमाडौं। पछिल्लो समय एकपटक कोरोनाभाइरस संक्रमणबाट निको भइसकेका बिरामीहरु पुनः संक्रमित देखिएको घटनाले वैज्ञानिकहरुको चिन्ता बढाएको थियो । दक्षिण कोरियामा एक पटक निको भइसकेका १४१ बिरामी पुनः संक्रमित भेटिएका थिए । एक पटक संक्रमणबाट मुक्त भइसकेपछि मानव शरीरमा प्रतिरोधी शक्ति विकास हुनुपर्नेमा किन फेरि तिनै बिरामी संक्रमित भेटिए ? यो प्रश्नको जवाफ दक्षिण कोरियाकै वैज्ञानिकहरुले खोजेका छन् ।

दक्षिण कोरियामा दोस्रो पटक ंक्रमित भएका १४१ जनाको केसको अध्ययनपछि वैज्ञानिकहरुले यसको सम्भावित कारणबारे बताएका छन् । कोरिया सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (केसीडीसीका वैज्ञानिकहरुका अनुसार कोरोनाभाइरसले मानव शरीरमा हुने रोग प्रतिरोधी कोष अर्थात टी–लिम्फोसाइट्समा आक्रमण गरेर उनीहरुलाई निष्क्रिय पारिरहेको छ । टी लिम्फोसाइट्स निष्क्रिय भएका कारण दोस्रो पटक संक्रमण हुने खतरा बढिरहेको छ ।

वैज्ञानिकहरुका अनुसार एक पटक मानव शरीरको रोग प्रतिरोधी क्षमता कम भएपछि त्यो पुनः पुरानै अवस्थामा आउन कैयौं महिना लाग्न सक्छ । डेलिमेलमा प्रकाशित समाचारका अनुसार वैज्ञानिकहरुले कोरोनाभाइरसले एक पटक मानव शरीरमा आक्रमण गरेपछि शरीरभित्रै सुषुप्त अवस्थामा बस्ने बताएका छन् । अर्थात भाइरसले शरीरभित्र आफ्ना गतिविधिहरु केही दिनको लागि बन्द गर्छ । तर, केही समयपछि जब भाइरसले मानव शरीरको रोग प्रतिरोधी क्षमता कम हुँदै गएको थाहा पाउँछ त्यसपछि पुनः शरीरमा आक्रमण गर्छ ।

यसरी मानव शरीरमा कोरोनाभाइरसको संक्रमण दोस्रो पटक देखिएको वैज्ञानिकहरुले पत्ता लगाएका छन् । कोरिया युनिभर्सिटी कलेज अफ फार्मेसीका भाइरोलोजिस्ट किम जियोंग कीले भने ‘करिब १ महिना पहिले हामीले जुन बिरामीलाई निको पारेका थियौं अहिले त्यही बिरामी दोस्रो पटक संक्रमित भएका छन् । जब उनको रोग प्रतिरोधी क्षमताको जाँच गरियो, त्यो क्षमता निकै कमजोर भएको थाहा भयो । कोरोनाभाइरसले यसैको फाइदा उठाइरहेको छ ।’

दक्षिण कोरिया, चीन र अमेरिकामा एकसाथ भएको अध्ययनमा यो कुरा स्पष्ट भएको छ कि कोरोनाभाइरसले शरीरभित्र टी लिम्फोसाइट्समा सीधा आक्रमण गरिरहेको छ । यसबाट मानव शरीरको रोग प्रतिरोधी क्षमता कमजोर भइरहेको छ । टी लिम्फोसाइट्स शरीरमा हुने ती कोषिकाहरु हुन् जसले जुनसुकै रोगसँग लड्न सहयोग गर्छन् । यी कोषिकाहरु निष्क्रिय हुँदै जाँदा शरीरको रोग प्रतिरोधी क्षमता घट्दै जान्छ र यी कोषिकाहरु पुरानै अवस्थामा फर्किन महिनौंसम्म लाग्न सक्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *