कोरोनाविरुद्ध महिला शक्तिः कोरोनाभाइरसबाट सिंगो देश बचाउने ७ महिला सरकार प्रमुखहरु

डिसी नेपाल
५ वैशाख २०७७ ११:२२

काठमाडौं। हाम्रो समाज पहिलेदेखि नै पुरुषप्रधान छ । अधिकांश क्षेत्रको नेतृत्व तहमा पुरुषहरु नै बढी छन् । महिलाहरु नेतृत्वमा पुगेका घटनाहरु तुलनात्मक रुपमा कम छन् ।

नेपालमा केही वर्षअघि यस्तो समय आएको थियो जतिबेला राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख तीनैजना महिला थिए । राष्ट्रपति अहिले पनि महिला छिन् यद्यपि मुलुकको प्रमुख कार्यकारी पद प्रधानमन्त्री भने नेपालमा अहिलेसम्म महिला हुन सकेका छैनन् । तर, विश्वमा केही यस्ता देशहरु छन् जसको प्रमुख कार्यकारी पदमा महिला छन् ।

पछिल्लो समय कोरोनाभाइरसको महामारी फैलिएका बेला यसको संक्रमणको अत्यन्तै जोखिममा रहेर पनि यस विरुद्ध सही रणनीति बनाउँदै यसलाई नियन्त्रण गर्ने काममा महिला कार्यकारी प्रमुखहरुको सफलता उदाहरणीय छ ।

उनीहरुले सही समयमा गरेको सही निर्णयले देशले कोरोनाभाइरसविरुद्ध सही दिशा लिएको छ । विश्वभरी नेताहरुमा महिलाहरु ७ प्रतिशत भन्दा कम छन् तर यी महिलाहरु देशको प्रमुख कार्यकारी छन् र देशलाई सही नेतृत्व दिइरहेका छन् ।

१. एन्जेला मर्केल, जर्मन चान्सलर

जर्मनीमा कोरोनाभाइरस ठूलो परिमाणमा फैलिएको छ । यहाँ १ लाख ३७ हजारभन्दा धेरै संक्रमित भए तर मृत्यु हुनेको संख्या भने तुलनात्मक रुपमा धेरै कम छ । यहाँ ४ हजारको मात्र ज्यान गएको छ । संक्रमित भएर बिरामी ठिक भइसकेको हिसाबले हेर्ने हो भने जर्मनी चीनपछि दोस्रो स्थानमा छ । यहाँ ७७ हजार संक्रमित ठिक भइसकेका छन् ।

यसको पछाडि सबैभन्दा ठूलो कारण चान्सलर एन्जेला मर्केलको सही निर्णय हो । एन्जेलाले सुरुवाती समयमै नागरिकलाई सचेत बनाइन्, देश लकडाउन गरिन् । उनले सुरुमै यो भाइरस खतरनाक भएको र आफ्नो देशको ७० प्रतिशत जनसंख्यालाई क्षति पुर्याउन सक्ने चेतावनी दिइन् ।

उनले तत्काल जरुरी कदम चालिन् । कैयौं प्रतबन्ध र सावधानीका साथ सचेतना र सामाजिक दूरी अनिवार्य पालन गर्न निर्देशन दिइन् जसले देशको स्थिति सुधार भयो ।

२. साइ इंग वेन, ताइवानकी राष्ट्रपति

कोरोनाभाइरसको संक्रमण सुरु भएसँगै सबैभन्दा तीव्र गतिमा प्रतिक्रिया दिएर यसबाट बच्नको लागि प्रभावकारी कदम चाल्ने देशहरुमध्येको एक हो ताइवान ।

जनवरीमा कोरोनाभाइरसको संक्रमण र लक्षणबारे जानकारी सार्वजनिक भएसँगै ताइवानकी राष्ट्रपति साइ इंग वेनले तत्काल १२४ कडा नियम लागू गराएकी थिइन् । यसको फलस्वरुप ताइवानले कोरोनाभाइरसलाई देश लकडाउन नगरीकनै नियन्त्रणमा लियो ।

अहिले साइ इंग वेनको नेतृत्वको ताइवान सरकारले १ करोड फेस मास्क अमेरिका र युरोप निर्यात गर्दैछ । यसबाट देशले ठूलो आर्थिक लाभ समेत पाउँदैछ । तीनसँग जोडिएको र वुहान शहरसँग निकै नजिक रहेको भएर पनि ताइवान सुरक्षित रहनुमा साइ इंग वेनको नेतृत्वले ठूलो भूमिका खेल्यो ।

३. जेसिन्डा आर्डर्न, न्यूजिल्याण्डकी प्रधानमन्त्री

न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा आर्डर्नले कोरोनाभाइरसविरुद्ध आफ्नो लडाइ १४ मार्चमा सुरु गरेकी थिइन् । उनले देशमा आउने सबैलाई १४ दिनको सेल्फ आइसोलेसनमा पठाउने निर्णय गरेकी थिइन् । जब देशमा कोरोना स.क्रमितको संख्या १०० माथि पुग्यो, उनले देशलाई लकडाउन गरिन् ।

यसको फलस्वरुप यहाँ कोरोनाभाइरसले ११ जनाको मात्र ज्यान लिएको छ । १४०९ संक्रमितमध्ये ८१६ निको भएर घर फर्किसकेका छन् । अहिले जेसिन्डाले न्यूजिल्याण्डका केही क्षेत्रमा चरणबद्ध रुपमा लकडाउन हटाउने निर्णय गरिसकेकी छिन् ताकि देश पुनः सामान्य अवस्थामा फर्कियोस् ।

४. क्याटरिन जकोब्स्दोतिर, आइसल्याण्डकी प्रधानमन्त्री

आइसल्याण्ड निकै सुन्दर देश हो । यहाँको जनसुंख्या ३ लाख ६० हजारजति छ । चिसो मौसमका कारण यहाँ कोरोनाभाइरस फैलिने आशंका पनि धेरै थियो । तर, प्रधानमन्त्री क्याटरिनले सबैभन्दा पहिले निःशुल्क कोरोनाभाइरसको जाँच सुरु गरिन् ।

देशको जनसंख्याको अनुपातमा सबैभन्दा धेरै परक्षण गर्ने देशमा आइसल्याण्ड अत्यन्तै अगाडि छ । यो देशले कूल जनसंख्याको ११ प्रतिशतभन्दा धेरैको जाँच गरिसकेको छ र यो अभियान जारी छ ।

दोस्रो स्थानको युएइले कूल जनसंख्याको ७ प्रतिशतको मात्र जाँच गर्नसकेको छ । अरु देशहरु धेरै पछाडि छन् । जाँचसँगै प्रधानमन्त्री क्याटरिनका अन्य सही निर्णयले यो देशमा केवल ८ जनाको ज्यान गएको छ ।

५. सन्ना मरिन, फिनल्याण्डकी प्रधानमन्त्री

फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिन गएको डिसेम्बरमा मात्र देशकी प्रधानमन्त्री निर्वाचित भएकी थिइन् । उनले कार्यभार सम्हालेको १ महिना नपुग्दै कोरोनाभाइरस फैलिन सुरु भइसकेको थियो ।

जिम्मेवारी लिएसँगै चुनौतीको रुपमा आएको कोरोनाभाइरसविरुद्ध प्रधानमन्त्री सन्नाको सही निर्णयका कारण युरोपमा विनाश मच्चाएको कोरोनाभाइरसले फिनल्याण्डमा निकै कम ज्यान लिएको छ । केवल ७५ जनाले ज्यान गुमाएको यो देशमा कूल संक्रमितमध्ये आधाभन्दा धेरै ठिक भएर घर फर्किसकेका छन् ।

६. एरना सोलबर्ग, नर्वेकी प्रधानमन्त्री

नर्वेकी प्रधानमन्त्री एरना सोलबर्गले देशवासीलाई कोरोनाभाइरसबाट बचाउनको लागि निकै प्रभावकारी उपाय अबलम्बन गरिन् । उनले नयाँ तरिका अपनाएर नागरिकलाई सचेत बनाउनेतर्फ जोड दिइन् ।

उनले टेलिभिजनमार्फत बालबालिकासँग सीधा कुरा गरिन् । बालबालिका धेरै चन्चले हुने भएकोले उनले बालबालिकालाई नै लक्षय बनाउकी थिइन् ।

उनले बालबालिकालाई उनीहरुको भूमिका सम्झाइन् । नर्वेमा नयाँ संक्रमणको संख्यामा निकै कमी आएको छ र यहाँ १५२ जनाले मात्र ज्यान गुमाएका छन् ।

७. मेटे फ्रेडरिक्सन, डेनमार्ककी प्रधानमन्त्री

डेनमार्गकी प्रधानमन्त्री फ्रेडरिक्सनले पनि देशका नागरिकसँग सीधा कुराकानी गर्नुलाई नै सबैभन्दा प्रभावकारी उपायको रुपमा अबलम्बन गरिन् । उनले देशवासीसँग प्रत्यक्ष कुरा गरिन् र यो महामारी रोक्न नागरिकले गर्न सक्ने सहयोगबारे बताइन् ।

उनले नागरिकलाई सरकारले गर्ने सहयोग पनि बताउँदै नागरिकलाई जागरुक गरिन् । यहाँ कोरोनाभाइरसको कारण २६० जनाको ज्यान गएको छ तर नयाँ संक्रमणमा निकै कमी आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *