‘चीनले आफ्ना वैज्ञानिक अमेरिकीभन्दा दक्ष छन् भन्ने देखाउन आफैं कोरोनाभाइरस फैलायो’

डिसी नेपाल
५ वैशाख २०७७ ११:५५

काठमाडौं। अमेरिकी टेलिभिजन च्यानल फक्स न्यूजले बिहीबार चीनले विशेष उद्देश्यसहित वुहानको प्रयोगशालामा कोरोनाभाइरस उत्पादन गरेको आरोप लगाएको छ । फक्स न्यूजले चीनले आफ्ना वैज्ञानिक अमेरिकी वैज्ञानिक भन्दा दक्ष छन् भन्ने देखाउन यो भाइरस उत्पादन गरेको दावी गरेको छ । रिपोर्टमा दावी गरिएअनुसार चीनले आफ्ना वैज्ञानिक कोरोना जस्ता खतरनाक भाइरसको पहिचान गर्न र त्यससँग लड्न अमेरिकाजत्तिकै वा ऊभन्दा दक्ष भएको देखाउने कोसिस गरेको थियो । रिपोर्टमा यो चीनको अहिलेसम्मकै सबैभन्दा महंगो र गुप्त कार्यक्रम भएको पनि दावी गरिएको छ ।

यद्यपि रिपोर्टमा कुनै ठोस प्रमाण पेश गरिएको छैन । सूत्रको हवाला दिइएको रिपोर्टमा सूत्रको पहिचान पनि खुलाइएको छैन । रिपोर्टमा डाक्टरका प्रयास र यो भाइरसलाई सुरुमा ल्याबमा रोक्न गरिएका प्रयाससँग सम्बन्धित केही दस्तावेजको हवाला दिँदै चीनको वुहानस्थित जुन वेट मार्केटबाट यो भाइरस फैलिएको भनिएको छ त्यहाँ चमेराहरुको किनबेच नै नहुने खुलासा भएको पनि दावी गरिएको छ । रिपोर्टमा चीनले ल्याबमाथि लाग्ने आरोप दबाउने उद्देश्यसहित वेट मार्केटको थ्योरी जानीजानी फैलाएको आरोप समेत लगाइएको छ । रिपोर्टमा यो भाइरसको माध्यमबाट चीनले इटली र अमेरिकालाई निशाना बनाउन चाहेको आरोप समेत लगाइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि बुधबार मात्र चीनको ल्याबबाट कोरोनाभाइरस दुर्घटनावश मानिसमा फैलिएको वा जानीजानी फैलाइएको हो भन्ने पत्ता लगाउने बताएका थिए । अमेरिकी विदेश मन्त्री माइक पोम्पिियोले त यसअघि नै चीनले भाइरस कसरी फैलियो भन्ने बताउनु पर्ने भनिसकेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पको आरोपपछि चीनले बिहीबार नै आफ्नो स्पष्टीकरण दिइसकेको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियनले भने ‘अहिलेसम्म त विश्व स्वास्थ्य संगठनले पनि कोरोनाभाइरस चीनको ल्याबमा बनेको भन्ने कुनै प्रमाण नभेटिएको पुष्टि गरिसकेको छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *