अस्ट्रेलियामा अझै १ वर्षसम्म प्रतिबन्ध जारी रहन सक्ने प्रधानमन्त्री मोरिसनको संकेत

डिसी नेपाल
५ वैशाख २०७७ १३:४६

काठमाडौं। अस्ट्रेलियाको सार्वजनिक जीवन अझै १ वर्षसम्म प्रतिबन्धकै बीचमा चल्नुपर्ने संकेत देखिएको छ । कोरोनाभाइरस महामारीको जारी प्रकोपका बीचमा देशको सबैभन्दा बढी जनघनत्व भएको राज्यले बालबालिकाहरुलाई शिफ्टमा स्कुल पठाउने प्रस्ताव गरेपछि प्रधानमन्त्री स्कट मोरिसनले शुक्रबार यस्तो चेतावनी दिएका हुन् ।

अहिलेसम्म विश्वको तुलनामा अस्ट्रेलियाले कोरोनाभाइरस संक्रमणमाथि धेरै हदसम्म नियन्त्रण कायम गरेको छ । गत महिना सामाजिक दूरीको निर्देशन दिएको र अन्तर्राष्ट्रिय उडान बन्द गरेको अस्ट्रेलियाले सन् २०२१ सम्म अन्तर्राष्ट्रिय उडान नखोल्ने संकेत गरिसकेको छ । रेष्टुरेण्ट, बार लगायतका अत्यावश्यक नठानिएका व्यवसाय बन्द गरिएका छन् र सार्वजनिक रुपमा २ जनाभन्दा बढीलाई जम्मा हुन प्रतिबन्ध लगाइएको छ । यी प्रतिबन्धले यहाँ यो वर्षको मध्यसम्म बेरोजगारीको दर दोब्बर बनाउने आशंका गरिएको छ ।

यहाँ ६ हजार ५ सयभन्दा धेरै संक्रमित भएका छन् र ६५ जनाको मृत्यु भएको छ । यद्यपि यहाँ संक्रमणको वृद्धिदर विगत केही सातायता निकै तल झरेको छ । प्रधानमन्त्री मोरिसनले मानिसहरुलाई कम्तीमा डेढ मिटरको दूरी कायम गर्ने लगायतका कडाइ केही महिनासम्म कायम रहन सक्ने बताएका छन् । उनले भ्याक्सिन समयमै बन्छ भन्ने कुनै ग्यारेन्टी नभएको भन्दै यस्तो प्रतिबन्ध कायमै राख्ने जनाएका हुन् । ‘सामाजिक दूरी हामीले निरन्तर अभ्यास गर्नुपर्ने मापदण्डमध्येको एक हो’ रेडियो थ्री एभीसँग कुरा गर्दै प्रधानमन्त्री मोरिसनले भने ‘यो अझै एक वर्षसम्म कायम रहन सक्छ, यद्यपि म यसबारे कुनै निश्चित अनुमान गर्न सक्दिन ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *