काठमाडौंका तरकारी बजारबाट कोरोना संक्रमण हुने जोखिम

डिसी नेपाल
८ वैशाख २०७७ १४:४८

काठमाडौं। काठमाडौंका विभिन्न स्थानमा सञ्चालित तरकारी बाजरमा उपभोक्ताहरुको भिड लाग्दा कोरोना संक्रमणको जोखिम बढेको छ।

सरकारले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि २५ जना भन्दा बढी एकैठाउँमा भेला नहुन आदेश गरेको छ। तर काठमाडौं उपत्यकामा सञ्चालित विभिन्न तरकारी बजारमा सयौंको संख्यामा तरकारी खरिद गर्नेको भिड हुने गरेको छ।

सोमबार बिहान काठमाडौंको पुरानो बसपार्क, लैनचौर, टुकुचा, तीनकुने लगायतका ठाउँमा रहेका तरकारी बजार पुग्दा मानिसहरुको भिडभाड देखियो। तरकारी बाजारमा झुण्डझुण्डमा मानिसहरुले तरकारी किनिरहेका थिए।

सामाजिक दूरी कायम गर्ने विषयलाई बेवास्ता गर्दै मानिसहरुले तरकारी किनिरहेका थिए। बजारमा साबुन पानीले हात धुने व्यवस्था पनि गरिएको छैन। यस्तै स्यानिटाइजरको प्रयोग पनि भएको देखिँदैन।

केही व्यक्तिहरुले मास्क र पञ्जा भने लगाएको देखिन्छ। अस्थायी बजारको रुपमा रहेका यस्ता तरकारी बजारमा उपभोक्ताको भिडभाड अस्वभाविक बढेकाले कोरोना संक्रमणको जोखिम बढाएको छ।

यस्तै काठमाडौंको भृकुटीमण्डप स्थित टुकुचा बजारमा पनि तरकारी खरिद गर्नेको भिडभाड लाग्ने गरेको छ। यो अस्थायी बजार भने होइन। सरकारले करिब दुई साता अघि कालिमाटी तरकारी बजारमा भिडभाड बढेको भन्दै उपत्यकाका विभिन्न ११ स्थानमा अस्थायी तरकारी बजार सञ्चालनमा ल्याएको थियो।

यसबाहेक पनि व्यापारीहरुले उपत्यकाका कतिपय चोकमा सडकमै तरकारी बिक्री गर्न राखेका छन्। तरकारी बजारलाई व्यवस्थित बनाउन नसक्दा सयौंको संख्यामा भिड लाग्ने गरेको छ भने यसबाट कोरोना भाइरस संक्रमणको जोखिम बढेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *