प्रचण्डले राजीनामा मागेपछि ओलीको ‘सरप्राइज’ प्रस्ताव

डिसी नेपाल
१८ वैशाख २०७७ ७:४७

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने प्रस्ताव राखेपछि बैठकमा चर्काचर्की भएको छ। बुधबार बालुवाटारमा बसेको बैठकमा सहभागी एक सचिवालय सदस्यका अनुसार बैठक सुरु भएलगत्तै प्रचण्डले करिब ४५ मिनेट बोलेका थिए।

सरकार र पार्टी दुबै कमजोर बन्दै गएको आरोप लगाउँदै ओलीले मार्गप्रशस्त गनुपर्ने आग्रह गरेका थिए। प्रचण्डको आग्रहपछि जवाफ दिँदै प्रधानमन्त्री ओलीले आफु मार्गप्रशस्त गर्न तयार रहेको भन्दै एउटा ‘सरप्राइज’ प्रस्ताव राखेका थिए। ओलीको भनाई उधृत गर्दै ती सचिवालय सदस्यले अन्नपूर्ण अनलाइनसँग भने ‘ठिक छ म दुबै पद छाड्न तयार छु। तर त्यसका लागि मेरो एउटा सर्त छ। संविधान संशोधन गरेर वामदेव गौतमलाई प्रधानमन्त्री बनाऔं। माधव नेपाललाई अध्यक्ष बनाऔं।’ ओलीले यस्तो प्रस्ताव गरेपछि बैठकमा केहीबेर सन्नाटा छाएको थियो।

त्यसपछि गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादलले दुबै अध्यक्षको प्रस्ताव यो समयमा ठिक नभएको भन्दै मिलेर संकटको सामना गनुपर्ने बेला आपसमै कलह मच्चाएर सरकार र पार्टी दुबैलाई बदनाम गर्न नहुने बताएका थिए। उनले सरकारलाई कमजोर पार्ने र पार्टीलाई फुटाउने नियोजित खेलमा विभिन्न तत्वहरु सक्रिय भएको हुँदा यसमा सचेत रहेर संयम एवंम सुझबुझ देखाउन र पार्टीलाई एकताबद्ध भएर अगाडी बढाउन दुबै अध्यक्षलाई आग्रह गरेका थिए।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अब नेकपाको २० गते सचिवालय बैठक बस्नेछ। उनका अनुसार २० गतेको सचिवालय बैठकले स्थायी कमिटीको बैठकबारे टुंगो लगाउनेछ।

अन्नपूर्ण पाेस्टबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *