स्वास्थ्यकर्मीलाई दैनिक १००० रुपैयाँ भत्ता

डिसी नेपाल
२२ वैशाख २०७७ १०:१३

जुम्ला । मुलुकभर फैलिँदो कोभिड–१९ रोकथाम तथा नियन्त्रण गर्न डेढ महिनादेखि देश लकडाउनमा छ। सङ्घीय सरकारभन्दा एक दिनअगावै गत चैत १० गते नै जुम्लाका सरोकारवाला निकायको सक्रियतामा लकडाउन घोषणा गरिएको थियो।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अहिले स्वास्थ्यकर्मी अग्रपङ्तिमा छन्। उनीहरुलाई यस महामारीविरुद्धको विशाल अभियानमा उत्प्रेरित गर्न दैनिक भत्ताको व्यवस्थापन गरिएको छ।

जुम्लाको चन्दननाथ नगरपालिकाले यस महामारीविरुद्धको अभियानमा स्वास्थ्यकर्मीलाई उत्प्रेरित गर्न दैनिक रु एक हजारको भत्ताको व्यवस्थापन गरेको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतले बताए ।

उनले भने, “नगरपालिकाले कार्यपालिकाको निर्णय गरी दैनिक भत्ताको व्यवस्थापन गरेको हो।” त्यसैगरी नगरपालिकाले पालिकाको सिमानामा पर्ने कर्णाली राजमार्गअन्तर्गत गमगाडमा हेल्थ डेस्क स्थापना गरेको छ।

अन्य गाउँपालिका र जिल्ला बाहिरबाट आउने नागरिकको स्वास्थ्य परीक्षण गर्नका लागि हेल्थ डेस्क स्थापना गरिएको जनस्वास्थ्य निरीक्षक महतले बताए ।

दमकलमार्फत पानी

नगरपालिकाले सदरमुकाम खलङ्गा आसपासका उपभोक्तालाई तिला नदीको पानी उपलब्ध गराएको छ।

दमकलमार्फत पानी ल्याएर उपभोक्तालाई पानी उपलब्ध गराइएको हो । दुई हप्तादेखि बजारमा नियमितरुपमा धारामा पानी नआएपछि सरसफाइका लागि दमकलमार्फत तिला नदीको पानी ल्याएर उपभोक्तालाई उपलब्ध गराउनुपरेको नगरप्रमुख कान्तिका सेजुवाल बताए ।

उनले भने, “नदीको पानी पिउनयोग्य छैन, तर सरसफाइ गर्न, तरकारी बारीमा सिँचाइ गर्न, शौचालयमा प्रयोग गर्न र कपडा धुन यो पानी प्रयोग हुनेछ।” लकडाउन सँगसँगै जुम्लामा दुई हप्तादेखि पानीको अभाव भएको छ।

खलङ्गा खानेपानी उपभोक्ता समितिले सञ्चालन गर्दै आएको खानेपानीको पाइप ठिन्के उर्थु्र सडक खन्ने क्रममा डोजरले पाइप काटेपछि पानी धारामा नआएको हो।

खलङ्गा खानेपानी उपभोक्ता समितिका महासचिव मीनबहादुर थापाका अनुसार विकास निर्माणका काम गर्दा खानेपानीका पाइपलाई ध्यान नदिँदा समस्या भएको हो। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *