काँग्रेसद्वारा ‘अर्थतन्त्र केन्द्रित विशेष समिति’ गठन

डिसी नेपाल
२४ वैशाख २०७७ १९:३३

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोनाले देशको विविध क्षेत्रमा पारेको असरबारे अध्ययन, विश्लेषण एवं देशका लागि आवश्यक दृष्टिकोण निर्माण गर्न ‘अर्थतन्त्र केन्द्रित विशेष समिति’ गठन गरेको छ ।

पार्टीको केन्द्रीय कार्यसमितिको यही वैशाख १७ गते सम्पन्न बैठकले कोरोनाले देशको विविध क्षेत्रमा कोरोनाले पारेको असरबारे अध्ययन गर्न विभिन्न समिति गठन गर्ने निर्णय गरेबमोजिम सभापति शेरबहादुर देउवाले आज सो समिति गठन गरेका हुन् ।

विगतमा अर्थ मन्त्रालयमा मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी सम्हाली सक्नुभएका, संसदीय दलमा अर्थमन्त्रालयको संयोजन गरिरहेका एवं राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष रहेर विगतमा नेतृत्व गरिसकेका पार्टीका नेता तथा विज्ञ रहने गरी समिति गठन गरिएको काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पार्टीका नेता डा रामशरण महत संयोजकत्वको उक्त समितिमा नेता महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्की, डा नारायण खड्का, डा मीनेन्द्र रिजाल, चिनकाजी श्रेष्ठ, दिपकुमार उपाध्याय, भरत शाह, उदय शमशेर राणा एवं अर्थविद् डा पृथ्वीराज लिगल, डा शङ्कर शर्मा, डा जगदीशचन्द्र पोख्रेल, डा गोविन्द पोख्रेल, डा स्वर्णिम वाग्ले सदस्य रहेका छन् ।

समितिले तत्कालीनरुपमा अत्यावश्यक राहतबारे सुझाव, अल्पकालीन रुपमा आगामी बजेटको प्राथमिकताबारे धारणा र दीर्घकालीन रूपमा कोरोनापछिको अर्थतन्त्रबारे दूरगामी दृष्टिकोण निर्माण गर्नेछ । समितिको अध्ययन, विश्लेषण र अभिमतका आधारमा कांग्रेसले आफ्नो अवधारणा र भुमिकालाई थप परिस्कृत एवं थप प्रभावकारी बनाउने पार्टी कार्यालयले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *