साउदी दूतावासको आग्रह ‘नेपाल जाने उडानबारे सोध्न फोन नगर्नुस्, हामी आफैं जानकारी गराउँछौं’

डिसी नेपाल
२५ वैशाख २०७७ ९:४२

काठमाडौँ। साउदी अरेबियाको रियादमा रहेको नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली श्रमिकलाई उडान कहिले खुल्छ भनेर मात्र फोन नगर्न आग्रह गरेको छ। साउदी अरबमा कोरोना संक्रमणको पछिल्लो अवस्था र अन्य जानकारीको बारेमा नियमित अपडेट दिँदै आएको दूतावासले बुधबार अपडेट दिने क्रममा उडान कहिले हुन्छ भन्ने प्रश्न सोध्नका लागिमात्र फोन नगर्न अनुरोध गरेको छ ।

विदेशमा अलपत्र परेका, रोजगारी गुमाएका, करार सकिएका बिरामी परेका लगायतका नेपाली नागरिकहरुलाई स्वदेश फर्काउनका लागि नेपाल सरकारले गम्भीररुपमा विभिन्न चरणका गृहकार्यहरु गरिरहेको र नेपाल सरकारले उद्धार उडानहरु सञ्चालनमा ल्याउने सम्बन्धमा गर्ने निर्णयलाई दूतावासले जानकारी गराउने भन्दै उडान कहिले हुन्छ भन्ने प्रश्न सोध्नका लागिमात्र फोन नगर्न अनुरोध गरेको हो ।

नेपाली नागरिकहरुले उद्धार, स्वदेश फिर्ती लगायतका विषयमा टिपाएको विवरण राजदूतावासले कम्प्युटर प्रणालीमा राखी प्राथमिकताका आधारमा वर्गीकरण गर्ने गरेको जनाएको छ। त्यस्तै राजदूतावासमा आफ्नो समस्या टिपाउँदा एकैजना व्यक्तिले राजदूतावासका ३/४ जना सम्म कर्मचारीलाई फोन नगरी एकजना मात्र कर्मचारीलाई फोन गर्न पनि अनुरोध गरेको छ ।

त्यसैगरी पछिल्लो समय साउदीमा आप्रवासी कामदारहरुमा संक्रमणको दर उच्च देखिएकाले व्यापक सावधानी अपनाउन समेत दूतावासले आग्रह गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *