नेपाललाई जानकारी नदिई चीनको टोली सगरमाथा नाप्दै

डिसी नेपाल
२७ वैशाख २०७७ १०:३६

काठमाडौं। नेपालमा रहेको सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्न भन्दै चीन सरकारको एउटा उच्चस्तरीय टोली सगरमाथाको आधार शिविर पुगेको छ। तर, यसबारे नेपाल सरकारलाई चीनले कुनै आधिकारिक जानकारी गराएको छैन।

समाचार अनुुसार, ली गुओपेंग नामका चिनियाँ अधिकारीको नेतृत्वमा ५५ सदस्यीय प्राविधिकहरुको टोली अत्याधुनिक उपकरणहरु सहित सगरमाथाको फेदीमा पुगेका छन्। उनीहरु मे ५ तारिक नै सगरमाथाको फेदीबाट चुचुरोतिर हिडेकोबारे फ्लाईओभर चाइना नामक संस्थाले सामाजिक सञ्जालमा सार्वजानिक गरेको छ। उसले सगरमाथाको फेदीमा केही चिनियाँको लस्कर देखिने गरीको फोटो पनि पोस्ट गरेको छ।

नेपाल सरकारले गत वर्षदेखि नै एउटा बृहत प्रोजेक्ट बनाएर सगरमाथाको उचाइ नाप्ने विविध तयारी गरिरहेको छ। नेपाल सरकारको प्राविधिक टोली सगरमाथाको चुचुरोमा पुगिसकेको र केही पटक सगरमाथाको फेदी र वरिपरिका क्षेत्रमा विभिन्न अध्ययनमा पूरा गरी उचाइ नाप्ने कार्य अघि बढाइरहेका पनि छन्। यस्तो अवस्थामा चीन सरकारले हतारिएर सगरमाथाको उचाइ नाप्न टोली नै बनाई सगरमाथाको चुचुरोतिर पठाउनुले ठूलो सन्देह पैदा गरेको छ।

र, चीनको नियतमाथि प्रश्न पनि उठेको छ। नेपालीहरु दक्षिणतर्फको छिमेकी मुलुक भारतको हेपाहा प्रबृत्तिको शिकार भई आक्रान्त भइरहेको अवस्थामा उत्तरको छिमेकी मुलुक चीनले पनि उस्तै हेपाहा प्रबृत्ति देखाउन खोजेको यो घटनाले देखाएको छ।

सगरमाथा नेपाल हो भन्ने कुरामा कसैलाई शंका छैन। सगरमाथाका पूर्व, पश्चिम र दक्षिण मोहोडा नेपालतर्फ नै पर्छन् भने उत्तरी मोहोडालाई नेपाल चीनको सीमाको रुपमा मानिएको छ। राजा महेन्द्रको शासनकालमा सगरमाथाको उत्तरी मोहोडा चीनले प्रयोग गर्न पाउने गरी समझदारी भएको बताइन्छ। सगरमाथा आरोहणका लागि पनि चीनले उत्तरी मोहोडाबाटमात्रै आरोहण अनुमति दिने गर्दछ।

बाँकी मोहोडाहरुबाट आरोहीहरुले नेपालकै अनुमतिमा सगरमाथा चढ्छन्। यही उत्तरी मोहोडातर्फ आफ्नो भाग भएको दावी गर्दै चीनले सगरमाथाको उचाइ नाप्ने कार्य शुरु गरिसकेको छ। तर, के एउटा मोहोडाबाट मात्रै सगरमाथाको उचाइ नाप्न सम्भव छ ? अवश्य छैन किनकि उचाइ नाप्न सबै मोहोडाहरुकै प्रयोग हुनुपर्दछ।

पूर्व,पश्चिम र दक्षिण मोहोडा नाप्नुपर्दा नेपाली भूमिको प्रयोग हुन्छ। अनि नेपाली भूमि प्रयोग गर्दा नेपालको अनुमति आवश्यक पर्दैन?  यही मे महिनाको ३ तारिक चिनियाँ सरकारको आधिकारिक समाचार एजेन्सी सिन्ह्वाले प्रकाशित गरेको समाचारअनुसार, परम्परागत र आधुनिक दुवै विधि र प्रविधि प्रयोग गरी चीनले सगरमाथाको उचाइ नाप्ने प्रयास गरेको छ।

यसका लागि ६ वटा विन्दु तयार गरेको र ती विन्दुबाट ट्रिगोनोमेट्रीको प्रयोग गरी नाप गर्ने तथा जीएमएसएस स्याटलाइट सर्भे, स्नो डेफ्ट राडार र स्याटालाइट रिमोट सेन्सिंग प्रविधिबाट नाप गरी सगरमाथाको उचाइ नापिने जानकारी पनि सिन्ह्वाको समाचारले दिएको छ। सो समाचारअनुसार, यसअघि पनि केही पटक चीनले सगरमाथाको नाप गरिसकेको र १९७५ सन्मा गरेको सर्बेमा सगरमाथाको उचाइ ८८८४.१३ मिटर र सन् २००५ मा गरेको सर्बेमा ८८४४.४३ मिटर उचाइ पत्ता लागेको उल्लेख छ।

सगरमाथाको उचाइ नाप्न आफूले पाउनुपर्ने भन्दै दक्षिणी छिमेकी मुलुक भारतले विगत वर्षहरुमा नेपाललाई तीब्र दवाव दिएको थियो। तर, नेपालले आफै नाप्ने भन्दै भारतको प्रस्ताव अस्वीकार गर्दै आएको छ।

चिनियाँ राष्ट्रपति सी जिनपिंगको नेपाल भ्रमणका बेला जारी संयुक्त बक्तब्यमा नेपाल र चीनले सगरमाथाको उचाइ संयुक्तरुपमा घोषणा गर्ने कुरा उल्लेख गरिएको थियो। यसको अर्थ नेपाललाई थाहै नदिई नेपाली भूमि प्रयोग गरेर सगरमाथाको उचाइ नाप्न पाइन्छ भन्ने चाहिँ पटक्कै होइन, नापी विभागका एक उच्च अधिकृतले भने, ‘नेपाली भूमि प्रयोग गर्दा नेपालको अनुमति आवश्यक हुन्छ।’

सगरमाथाको उचाइ नाप्न आफूले पाउनुपर्ने भन्दै दक्षिणी छिमेकी मुलुक भारतले विगत वर्षहरुमा नेपाललाई तीब्र दवाव दिएको थियो। तर, नेपालले आफै नाप्ने भन्दै भारतको प्रस्ताव अस्वीकार गर्दै आएको छ।

छिमेकी मुलुक भारतले नेपाल भारत र चीनबीचको त्रिदेशीय सीमा क्षेत्र लिपुलेकको नेपाली भूमि मिचेर आफूखुसी मानसरोवर जाने बाटो निर्माण गरेको हिजोमात्र सार्वजानिक भएका बेला अर्को छिमेक चीनले पनि नेपाली सार्वभौमिकतामाथि धावा बोल्ने काम गरेको छ।

चीनले सगरमाथाको उचाइ नाप्ने विषयमा आफूहरुलाई कुनै जानकारी नभएको नापी विभागले जनाएको छ। नापी विभागका प्रवक्ता दामोदर ढकालले चीनले सगरमाथाको उचाइ नाप्ने विषयमा विभागलाई कुनै जानकारी नभएको बताए। ‘यो विषयमा नापी विभागलाई कुनै जानकारी छैन,’ प्रवक्ता ढकालले डिसी नेपालसँग भने, ‘नाप्न मिल्ने नमिल्ने लगायतका विषय परराष्ट्रलाई मात्र जानकारी हुन्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *