कोरोना भाइरसका कारण यूएईमा ७ नेपालीको मृत्यु, २ सय भन्दाबढी संक्रमित

डिसी नेपाल
३० वैशाख २०७७ ११:३०

काठमाडौँ । कोरोना भाइरसका कारण खाडी मुलुक यूएईमा ज्यान गुमाउने  नेपालीको संख्या ७ पुगेको छ । त्यस्तै २ सय जना भन्दाबढी नेपाली संक्रमित भएको एनआरएनए यूएईका अध्यक्ष प्रकाश कोइरालाले डिसी नेपाललाई बताए ।

यूएईले सुरुवाती दिनहरुमा संक्रमित व्यक्तिहरुको राष्ट्रियता खुलाए पनि पछिल्लो दिनहरुमा संक्रमितहरुको संख्या बढ्न थालेपछि राष्ट्रियता खुलाउने गरेको छैन । तसर्थ अबुधाबीस्थित नेपाली दूतावाससँग यकिन तथ्याङक छैन । तर, पनि एनआरएनए यूएईले आफ्नो तरिकाले संक्रमित नेपालीहरुको तथ्याङक संकलन गरेको उनले जानकारी गराए ।

‘ नेपालीहरुको यकिन तथ्याङक बारे नभनेता पनि हामीलाई प्राप्त सुचना अनुसार लगभग २ सय प्लसको हाराहारीमा नेपालीहरु संक्रमित छन्,’ उनले भने, ‘त्यसमा अस्ति ( शनिबार) सम्मको रेकर्ड अनुसार ७ जना नेपालीको मृत्यु भएको छ । उनीहरुमध्ये हाम्रो सम्पर्कमा आएका ३५ जना जति नेपाली उपचारपछि सन्चो भएर फकर्नु भएको छ । ’

एनआरएनलाई प्राप्त भएको तथ्याङक भन्दा धेरै संख्यामा नेपालीहरु संक्रमित भएको उनको अनुमान छ । ‘ यो त हामीलाई प्राप्त भएको तथ्याङक हो । तर, यहाँ जम्मा संक्रमित संख्याको करिब ६ प्रतिशत नेपाली रहेको सूचना हामीलाई प्राप्त भएको छ । त्यसैले हामीले प्राप्त गरेको तथ्याङक भन्दाबढि संख्यामा संक्रमित हुन सक्ने अनुमान छ ।’

यूएईमा ८० प्रतिशत भन्दा धेरै सामान्य काम गर्ने नेपाली श्रमिक रहेको र उनीहरुको बस्ने ठाउँ, कार्यस्थल व्यवस्थित नहुने हुँदा संक्रमित नेपालीको संख्या अरु बढ्न सक्ने उनको भनाइ छ ।

उनका अनुसार यूएईमा लकडाउनकै अवधिमा करिव ६/७ जना नेपालीले आत्महत्या समेत गरेका छन् ।

यूएईमा हालसम्म १८ हजार ८ सय ७८ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । संक्रमितमध्ये २ सय १ जनाको ज्यान गएको छ । त्यस्तै ५ हजार ३ सय ८१ जना उपचारपछि निको भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *