साउदी अरबमा ६ सय ७४ जना नेपाली श्रमिक कोरोना भाइरसबाट संक्रमित

डिसी नेपाल
३० वैशाख २०७७ २०:५०

रियाद । साउदी अरबमा ६ सय ७४ जना नेपाली श्रमिक कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका छन् । साउदी अरबको स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म ६ सय ७४ जना नेपालीलाई कोरोनाको संक्रमण पुष्टि भएको रियादस्थित नेपाली राजदूतावासले जनाएको छ ।

दूतावासका अनुसार संक्रमितमध्ये १ जना नेपालीको मृत्यु भएको छ । कुल संक्रमितमध्ये ११ जना महिला कामदार रहेको दूतावासले जनाएको छ ।

दूतावासलाई प्राप्त विवरण अनुसार नेपाली श्रमिकहरूको ठूलो उपस्थति रहेको साउदी अरबको पूर्वी क्षेत्रमा ३ सय ३६ , पश्चिमक्षेत्र मक्का, मदिना, जेद्दा र जजानमा १ सय ४८, रियाद क्षेत्रमा १ सय ७५ , कसिम क्षेत्रमा ३ , हायल क्षेत्रमा ३ र अन्य स्थानमा ९ जना नेपालीहरू संक्रमित भएका छन् ।

संक्रमितमध्ये कतिपय निको भएर काममा समेत फर्किसकेको दूतावासले जनाएको छ । तर, निको हुने नेपालीको संख्या भने खुलाइएको छैन् ।

त्यहाँको सरकारले दूतावासलाई दिएको जानकारी अनुसार साउदी अरबमा कोरोना संक्रमण शुरु भएदेखि हालसम्म विभिन्न कारणले ३१ जना नेपालीले ज्यान गुमाएका छन् । तीमध्ये १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको बताइएको छ। त्यस्तै ३ जना नेपालीको मृत्युको कारण प्रष्ट नभएकाले खुलाई पठाइदिन साउदी सरकारलाई अनुरोध गरिएको दूतावासको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *