न्यूजील्यान्डले पायाे कोरोना माथि जित !

डिसी नेपाल
३१ वैशाख २०७७ १५:३०

बैंकक। न्यूजील्याण्डमा बुधबार लगातार दुई दिनदेखि नयाँ कोरोनाभाइरस संक्रमित व्यक्ति नभेटिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन्।
स्वास्थ्य सेवा विभागका महानिर्देशक आश्ले ब्लूमफिल्डले बुधबार मध्यरातदेखि लागू हुनेगरी लकडाउनलाई व्यापक रुपमा खुकुलो बनाउन पछिल्लो स्वास्थ्य विवरणले निकै हौसला दिएको बताए।

न्यूजील्यान्डमा अधिकांश व्यवसाय, मलहरु, खुद्रा पसलहरु तथा रेस्टुराँहरु बुधबार मध्यरातदेखि खुला हुँदैछन्। तर सामाजिक दूरीका नियमहरु भने लागू हुनेछन् भने १० जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन प्रतिबन्धहरु लगाइनेछ।

सरकारले बिहीबार वार्षिक बजेट पनि सार्वजनिक गर्दैछ। प्रधानमन्त्री जेसिन्डा आर्डनले कोरोनाभाइरसका कारण मुलुकले सर्वाधिक ठूलो आर्थिक चुनौतीको सामना गर्नु परेको बताए।

यसैबीच, दक्षिण कोरियाले कोरोनाभाइरसबाट नयाँ संक्रमित भेटिएको जनाउँदै सामाजिक दूरी सम्बन्धी हालको व्यवस्थालाई तत्काल खुकुलो पार्ने कुनै योजना नरहेको जनाएको छ।

उपस्वास्थ्य मन्त्री किम गाङ–लिपले सियोलमा पत्रकारहरुसँग कुरा गर्दै पछिल्लो पटक देखिएको कोरोना संक्रमणको विस्तृत अध्ययन गरेपछि मात्र उपयुक्त निर्णय लिइने स्पष्ट गरे।

कोरियामा प्रतिदिन ३० जनामा कोरोना देखिए पनि पछिल्ला दिनहरुमा यो १० जनाभन्दा कममा आइपुगेको थियो। यहीकारण विद्यालयहरु पुनः खोल्न ढिलाई गरिएको छ भने राजधानी सियोल वरपरका रात्रिक्लबहरु अस्थायी रुपमा बन्द गरिएका छन्।

कोरियाली संक्रामक रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार बुधबार दक्षिण कोरियामा २६ जनामा कोरोना संक्रमण देखिएको छ। कोरियामा कोरोनाभाइरसबाट संक्रमितको कूल संख्या १० हजार ९६२ पुगेको छ भने २५९ जनाको मृत्यु भएको छ।

उता चीनमा बुधबार सात जनामा कोरोना संक्रमण देखिएको छ । यीमध्ये उत्तरपूर्वी जिलिन प्रान्तका छ जना रहेका छन्। नयाँ संक्रमित देखिएसँगै जिलिनका अधिकारीहरुले कोरोना देखिएको क्षेत्रसँग अरु भाग जोड्ने रेलसेवा बन्द गरिएको जनाएका छन्।

चीनमा पछिल्लो विवरणसँगै कूल संक्रमितको संख्या ८२ हजार ९२६ पुगेको र ४ हजार ६३३ जनाको ज्यान गएको छ। तर अधिकाँश संक्रमित व्यक्ति निको भएर घर फर्किसकेका छन्।

मंगलबार चिनियाँ संचार माध्यमहरुले सर्वप्रथम कोरोनाभाइरस देखिएको उहानका सबै बासिन्दाको स्वास्थ्य परीक्षण गर्ने योजना बनाएको बताएका छन्। मध्य चीनको औद्योगिक शहर उहानमा करिब १ करोड १० लाख मानिसको बसोबास छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *