‘कतारबाट नेपालीलाई तत्कालै स्वदेश फर्काउने अवस्था छैन, समस्या परे दूतावासलाई भन्नुहोस्’

बिनेश खनाल
३ जेठ २०७७ ११:३२

काठमाडौँ । कतारका लागि नेपाली राजदूत डाक्टर नारद भारद्वाजले त्यहाँ रहेका नेपालीलाई तत्कालै स्वदेश फर्काउने अवस्था नरहेको बताएका छन् । उनीहरूलाई फिर्ता ल्याउँदा यहाँ व्यवस्थापन गर्न सक्ने अवस्था नरहेको र यसले नेपालमा थप जोखिम बढ्ने हुँदा तत्काल स्वदेश फर्काउन असम्भव रहेको उनको भनाइ छ ।

‘अहिलेको स्थिति भनेको एउटा जटिल स्थिति हो । यहाँबाट घर जान चाहने नेपालीहरुले तत्कालै जान पाउने स्थिति छैन,’उनले डिसी नेपालसँग भने, ‘यो कुरा हाम्रो देशको अवस्था र पूर्वाधारमा भर पर्छ । फर्काइएका कामदारको व्यवस्थापन गर्न नेपालको क्षमताले थेग्न नसक्ने भएकोले जोखिम अझै बढ्छ । त्यसैले अहिले गएर हामीले देशमा पहिलेदेखि बल्झिरहेको घाउलाई ठूलो रुपमा बल्झाउनु हुँदैन ।’

राजदूत भारद्वाजले यो संवेदनशील घडीमा सबैले धैर्य गर्नुको अर्को विकल्प नभएको बताए । उनले कतारमा बस्न सक्ने स्थितिमा रहेकाहरुलाई अनुकूल समयको प्रतिक्षा गर्दै कतारमै रहेर सहयोगको लागि समेत याचना गरेका छन् । यद्यपि कतारमा बस्नै समस्या परेकाहरूका लागि भने दूतावासले पहल गर्ने उनले बताए । नेपाल फर्काउने सवालमा विभिन्न कारणले अलपत्र परेका, आममाफी पाएका, बिरामी तथा असक्त व्यक्तिहरुलाई पहिलो प्राथमिकतामा राख्ने उनको भनाइ छ ।

‘जो बिचल्लीमा पर्नुभएको छ, जसको यहाँ बस्न सक्ने कुनै आधार नै छैन, जो स्वास्थ्यको कारणले वा विभिन्न परिस्थतिले गर्दा जानैपर्ने विवशतामा हुनुहुन्छ उहाँहरुलाई भने सरकारले उद्धार गर्छ,’ उनले भने, ‘उहाँहरुले पनि केही समय प्रतिक्षा गर्नै पर्ने हुन्छ । म उहाँहरुलाइ प्रतिक्षा गर्न भन्दै यो खराब समयलाई धैर्यतापूर्वक सामना गर्न अनुरोध गर्छु ।’

समस्या परेमा दूतावासमा फोन गर्नुहोस्, तुरुन्तै रेस्पोन्स हुन्छ

नेपाली दूतावासको फोन समेत नउठेको भन्दै कतारमा रहेका नेपाली श्रमिकहरुले नै गुनासो गरिरहेको बेला राजदूत भारद्वाजले भने यसमा कुनै सत्यता नभएको बताएका छन् । ‘अहिले हामीले २४ घण्टा डेलीगेटेड ह्वाटसएप लाइन र अरु ५ वटा टेलिफोन लाइन उपल्बध उपलब्ध गराएका छौं । मैले बारम्बार भन्ने गरेको छु,केही पर्‍यो भने डेलीगेटेड ह्वाट्सएप नम्बर ३३५६०११७ मा फोन गर्नुहोस् । यो नम्बरमा फोन गरिसकेपछि उहाँहरु (पीडित)ले जवाफ पाउनुहुनेछ,’ उनले भने, ‘हामीले फोन तथा फेसबुकमा आएका गुनासोहरु पाउन बित्तिकै कारवाही गछौँ । कुनै न कुनै पहल गरेर समस्या सम्बोधन गछौँ ।’

उनले दूतावासबाट कुनै कारणले रेस्पोन्स नभएमा आफूलाई सिधै सम्पर्क गर्न समेत भनेका छन् । उनले केही समस्या पर्‍यो भने त्यो बेलामा आफ्नो मोबाइल नम्बर ६६५४६२६९ मा पनि फोन गरेर आफ्नो गुनासो राख्न सकिने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *