बहराइनमा कोरोना संक्रमित नेपाली श्रमिकको संख्या ३ सय ३१ पुग्यो

डिसी नेपाल
४ जेठ २०७७ १९:२०

काठमाडौँ । खाडीमुलुक बहराइनमा रोजगारीका लागि पुगेका ३ सय ३१ जना नेपाली श्रमिकमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ ।मान्मास्थित नेपाली दूतावासका आइतबार सम्ममा संक्रमित नेपालीको संख्या बढेर ३ सय ३१ पुगेको हो ।

बहराइनमा कोरोना संक्रमित एक नेपालीको मृत्यु समेत भएको बताइएको छ । तर, बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले भने कोरोनाकै कारणले ती नेपालीको मृत्यु नभएको बताए । ‘स्वीमङ पुलमा डुबेर मृत्यु भएका एक नेपालीको पोस्टमार्टम गर्दा पछि कोरोना देखिएको हो,’उनले भने, ‘ कोरोनाकै कारणले मरेको होइन ।’

राजदूत सुन्दासका अनुसार संक्रमित नेपालीमध्ये कैयौँ उपचारपछि निको भएर फर्किसकेका छन् । उपचाररत रहेका नेपालीहरुको पनि अवस्था सामान्य रहेको उनले बताए।

स्वास्थ्य मन्त्रालयका अनुसार बहराइनमा हालसम्म ६ हजार ७ सय ४७ जनामा कोरोनाको संक्रमण देखिएको छ । उनीहरुमध्ये १२ जनाको ज्यान गएको छ,भने २ हजार ७ सय ६२ जना उपचारपछि निको भएका छन् ।

समस्यामा परेका नेपालीलाई आफ्नो विवरण उपलब्ध गराउन दूतावासको आह्वान

दूतावासले कोरोनाका कारण बहराइनमा समस्यामा परेका नेपाली श्रमिकहरुको विवरण संकलन गरिरहेको जनाएको छ ।

कोरोनाबाट प्रभावित नेपालीको विवरण संकलन गरेर समाधानार्थ सहजिकरण गर्ने प्रयास गरिने दूतावासले जनाएको छ ।अप्ठ्यारोमा परेका नेपालीले आफ्नो समस्या राजदूतावासको वेभसाइटमा उपलब्ध गराइएको फारम भरेर जानकारी गराउन अनुरोध गरिएको छ ।

उक्त फारममा आआफ्नो नाम थर, बहराइनको ठेगाना, राहदानी नम्बर, सम्पर्क नम्बर, इमेल, पेशा, नेपालको ठेगाना, कम्पनी/स्पोनसरको सम्पर्क नम्बर, कम्पनी/स्पोनसरको सम्पर्क ठेगाना एवम् आफूलाई परेको समस्यालगायतका विवरणहरू उपलब्ध गराउन अनुरोध गरेको छ ।

फारममा आफ्ना विवरणहरु भरिसकेपछि आवेदनको अन्तिममा रहेको सबमिट बटनमा थिच्नुपर्नेछ । जतिसक्दो चाँडो आफ्नो विवरण उपलब्ध गराउन दूतावासले आग्रह गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *