कोरोना महामारी सुरु भएको साढे ४ महिनापछि पहिलो पटक बोले चिनियाँ राष्ट्रपति

काठमाडौं। कोरोनाभाइरस महामारी सुरु भएको झण्डै साढे चार महिनापछि चिनियाँ राष्ट्रपति सी जिनपिङ पहिलो पटक यस विषयमा औपचारिक रुपमा विश्व समुदायमाझ बोलेका छन् । विश्व स्वास्थ्य संगठनको वार्षिक बैठकमा चिनियाँ राष्ट्रपति जिनपिंगले कोरोनाभाइरस महामारी र यसको नियन्त्रणमा आफ्नो देशको भूमिकामाथि उठिरहेका प्रश्नको जवाफ दिए ।

राष्ट्रपति जिनपिंगले भाइरसको सुरुवातदेखि अहिलेसम्म चीनले पारदर्शिता र जिम्मेवारीका साथ काम गरेको बताए । चीनले विश्व स्वास्थ्य संगठन र अन्य सम्बन्धित देशहरुलाई सही समयमा भाइरससम्बन्धी जानकारी उपलब्ध गराएको जिनपिंगले बताए । अमेरिकी, युरोपेलीसहितका पश्चिमा देशहरुले चीनले भाइरससम्बन्धी जानकारी लुकाएका कारण विश्वभर संक्रमण फैलिएको आरोप लगाइरहेका छन् । अमेरिकासमेतका देशले भाइरसको उत्तपत्तिका विषयमा जाँचको माग गरेका छन् ।

भिडियो कन्फरेन्समार्फत भएको बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति जिनपिंगले कोरोनाभाइरसको नियन्त्रण गरिसकेपछि अब चीन विश्व स्वास्थ्य संगठनको अगुवाइमा कोरोना महामारीको विश्वव्यापी समीक्षालाई समर्थन गर्ने बताए । चिनियाँ राष्ट्रपतिले आफू जाँचको लागि तयार रहेको तर यो जाँच स्वतन्त्र र निष्पक्ष तरिकाले हुनुपर्ने बताए । राष्ट्रपति जिनपिंगले कोरोना महामारीलाई दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो स्वास्थ्य संकट भएको बताए । उनले पीडित देशको सहयोगको लागि २ वर्षमा २ अर्ब डलर सहयोग गर्ने बताए ।

चीनमा कोरोनाभाइरका पाँच भ्याक्सिनको क्लिनिकल ट्रायल चलिरहेको छ । राष्ट्रपति जिनपिङले चीनमा बनिरहेको भ्याक्सिनसम्म पूरै विश्वको पहुँच हुने बताए । शीले यदि चीनमा कोरोनाको भ्याक्सिन बनेमा यो भ्याक्सिन विकासशील देशको पहुँचसम्म पुगोस् भन्ने सुनिश्चित गर्ने बताए ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो