केराले बजार नपाएपछि किसान चिन्तित

डिसी नेपाल
८ जेठ २०७७ ९:२९

नवलपरासी । नवलपरासी (पश्चिम सुस्ता पश्चिम) जिल्लामा उत्पादित केराले बजार नपाएपछि किसान चिन्तित भएका छन्।

बन्दाबन्दीका कारण काठमाडौँ, पोखरा र पहाडी क्षेत्रलगायत ठूलाठूला बजारसम्म बजारीकरणका लागि केरा पुर्याउन निकै समस्या भएको छ।

नवलपरासी (बर्दघाट – सुस्ता पश्चिम) जिल्लाको दक्षिणी भेग विशेष गरी केरा खेतीका लागि उपयुक्त मानिन्छ।

बन्दाबन्दीमा नेपाल सरकारले कृषि उपजलाई सहजै बजारीकरणका व्यवस्था भएको जनाए पनि बजारीकरणमा समस्या देखिएको केरा उत्पादक सङ्घका जिल्ला अध्यक्ष लख्खु यादव बताउँछन् ।

स्थानीय बजारमा सामान्य मात्रामा केरा बिक्री हुँदै आए पनि ठूला शहर बजारसम्म केरा पुग्न नसकेको प्रतापपुर –५ कठहवामा २० बिघा क्षेत्रफलमा केरा खेती गर्दै आउनुभएका किसान मोतीलाल कोइरीको भनाइ छ।

ऋण लिएर खेती गर्दै आएका किसानलाई केरा बिक्री नहुँदा झन् ठूलो समस्या हुँदै आएको प्रतापपुर –६ का किसान इन्द्राज पासीको भनाइ छ।

खेतमा तयार भएको केराले बजार पाएको छैन । भारतीय बजारबाट सहजै रुपमा केरा भित्रिने गरे तर नेपाली उत्पादनले बजारीकरण गर्न नपाउँदा समस्या भएको प्रतापपुर –५ कठहवामा किसान चन्द्रिका कोहार बताउँछन् ।

कृषि ज्ञान केन्द्र नवलपरासी (बर्दघाट – सुस्ता पश्चिम) कार्यालयका अनुसार जिल्लामा ३०० हेक्टर क्षेत्रफलमा वार्र्षिक चार हजार २०९ मेट्रिक टन केरा उत्पादन हुँदै आएको छ।

यहाँका किसानको आम्दानीको दरिलो स्रोत केरा खेती मानिएको छ। किसानले रु ५० देखि रु ६० सम्ममा एक दर्जन काँचो केरा बेच्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *