जापानी टेनिस स्टार बनिन् खेल इतिहासमै सर्वाधिक कमाइ गर्ने महिला खेलाडी

डिसी नेपाल
१० जेठ २०७७ ८:५७

काठमाडौं। जापानी टेनिस सेन्सेसन नाओमी ओसाका खेल इतिहासमै सर्वाधिक कमाइ गर्ने महिला खेलाडी बनेकी छिन् । नाओमीले गएको वर्ष ३७.४ मिलियन डलर कमाइ गरेको फोर्ब्सले जनाएको छ । २२ वर्षकी नाओमीले यो कमाइ पुरस्कार रकम र इन्डोर्समेन्टबाट कमाएकी हुन् । यो रकम अर्की टेनिस स्टार सेरेना विलियम्सको भन्दा १.४ मिलियन डलर बढी हो ।

२३ पटककी ग्राण्ड स्लाम च्याम्पियन सेरेना विलियम्स विगत ४ वर्षदेखि सर्वाधिक कमाइ गर्ने महिला खेलाडी थिइन् तर पछिल्लो वर्ष उनलाई नाओमीले उछिनेकी छिन् । विलियम्सले पछिल्लो ४ वर्ष १८ मिलियन डलरदेखि २९ मिलियन डलरसम्म कमाइ गरेकी थिइन् । यद्यपि नाओमीले यस वर्ष अर्की टेनिस स्टार मारिया सारापोभाको रेकर्ड तोडेकी हुन् । सारापोभाले २०१५ मा २९.७ मिलियन डलर कमाउँदै इतिहासमै महिला खेलाडीको सर्वाधिक कमाइको रेकर्ड बनाएकी थिइन् ।

नाओमीले आफ्नो करिअरमा २ ग्राण्ड स्लाम जितेकी छिन् । उनलाई अहिले टेनिस जगतमा सबैभन्दा चर्चित र सम्भावना भएका खेलाडीहरुमध्ये एक मानिन्छ । नाओमीले पहिलो ग्राण्ड स्लाम जित्ने क्रममा २०१८ मा युएस ओपनको फाइनलमा सेरेना विलियम्सलाई पराजित गरेकी थिइन् । अर्को वर्ष उनले अस्ट्रेलियन ओपनको उपाधि जितिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *