सरकारको लापरवाहीले कोरोना संक्रमित बढे : कांग्रेस

डिसी नेपाल
११ जेठ २०७७ २१:४४

काठमाडौं । नेपाली कांग्रेसले सरकारको लापरवाहीले नेपालमा कोरोनाको संक्रमण तीब्र गतिमा बेढेको निष्कर्ष निकालेको छ । आइतबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

वैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘कोरोना विरुद्धको संघर्ष क्रममा सरकारले समयमै गम्भीरता नराख्दा संक्रमितको संख्या व्यापक बढेको, अन्तत ३ जनाको मृत्यु समेत भइसकेको स्थितिलाई पार्टीको पदाधिकारी बैठकले गम्भीरतापूर्वक लिंदै सरकारलाई स्थितिको गहन समिक्षा गरेर युद्धस्तरमा कार्य गर्न अपिल र माग गरेको छ।’

काँग्रेस केन्द्रीय कार्यालयमा बसेको पार्टी पदाधिकारी बैठकले नेपालमा पहिलो सङ्क्रमित भेटिएको चार महिना र लकडाउन भएको दुई महिना पूरा हुँदासम्म अझै पनि परीक्षण सुस्त गतिमा हुनु, पर्याप्त स्वास्थ सामग्री नहुनु, क्वारेन्टिनहरु नाम मात्रको हुनु, राहतको पर्याप्त प्याकेजको प्रबन्ध गर्न नसक्नुलाई सरकारको असक्षमताका रूपमा टिप्पणी गरेको छ । भारतको विभिन्न शहरबाट सीमामा आइपुगेका नेपालीलाई व्यवस्थित ढङ्गले प्रवेश गराउन, क्वारेन्टिनमा राख्न र पिसिआर परीक्षणपश्चात् मात्रै घर पु¥याउने प्रबन्ध गर्न बैठकले माग गरेको छ ।

विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने व्यवस्थित कार्ययोजना निर्माण गर्न सरकारले ढिलाइ गरेको भन्दै बैठकले यथाशीध्र आवश्यक योजना सार्वजनिक गरेर अप्ठ्यारोमा परेका नेपालीको उद्धार थाल्न सरकारसमक्ष माग गरेको छ । अन्य विविध कारणले विदेशमा मृत्यु भएका करीब २०० भन्दा बढी नेपालीको शव नेपाल ल्याउने प्रबन्ध तत्काल मिलाएर शोकमा रहेका परिवारजनको पीडामा मल्हम लगाउने राज्यको कर्तव्य पालना गर्न बैठकले आग्रह गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *