इदले प्रेम र विश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छः मुख्यमन्त्री पोेखरेल

डिसी नेपाल
१२ जेठ २०७७ ८:५७

बुटवल । मुख्यमन्त्री शंकर पोखरेलले सांस्कृतिक विविधता भएको मुलुक नेपालमा मनाइने सांस्कृतिक उत्सव र पर्वले समाजमा सद्भाव, भ्रातृत्व र मेलमिलापको वातावरण बनाएको बताएका छन्।

मुख्यमन्त्रीले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल फित्र (इद) का अवसरमा आज दिएको शुभकामना सन्देशमा इद पर्वले समाजमा प्रेम र विश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गरेका छन्।

मुख्यमन्त्री पोखरेलले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले अल्पसंख्यक मुसलमान समुदायको उत्थान र विकासका लागि मार्गप्रशस्त गरेको बताउँदै संविधान कार्यान्वयन हुँदै जाँदा सबै समुदाय, वर्ग र जातिले व्यावहारिक रुपमा प्राप्त अधिकारको उपभोग गर्दै जाने विश्वास व्यक्त गरेका छन्।

उनले कोरोना भाइरसको संक्रमणबाट जोगाउन तीनै तहका सरकार स्पष्ट कार्ययोजनासहित समन्वय र सहकार्य गर्दै अघि बढेको बताउँदै जोखिम न्यूनीकरणका लागि सरकारले गरेका निर्णय कार्यान्वयन गर्न नागरिकको साथ महत्वपुूर्ण हुनेमा जोड दिए।

मुख्यमन्त्री पोखरेलले कोरोनाविरुद्धको संघर्षलाई जित्न सबैले सामाजिक दूरी कायम गर्दै दिनचर्या अघि बढाउन आवश्यक रहेको स्मरण गराउँदै इद पर्व पनि सामाजिक दूरी कायम गरी मनाउन मुसलमान समुदायमा आग्रह गरेका छन्। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *