अन्तरजातीय विवाहको विषयमा गाउँलेको आक्रमणबाट मृत्यु भएको विषयमा छानवीन गर्न समित गठन

डिसी नेपाल
१३ जेठ २०७७ १२:४९

काठमाडौं। अन्तरजातीय  विवाहको विषयलाई लिएर रुकुमपश्चिमको चौरजहारीमा भएको दुःखद घटनाको छानविनका लागि गृहमन्त्रालयले मन्त्रलयका सहसचिवको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको छ।

शनिबार बेलुकी रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोती तीन जनाको मृत्यु र तीन जना बेपत्ता हुने गरी भएको घटनाको छानबिनका लागि गृहले समिति गठन गरेको हो।

गृहमन्त्री रामबहादुर थापाले मंगलबार संसदमा घटनाको छानविनका लागि गृह मन्त्रालयले मन्त्रलयका सहसचिवको नेतृत्वमा प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत प्रतिनिधि, महान्यायाधिवक्ताको कार्यालयका अधिकृत प्रतिनिधि र गृह मन्त्रालयका उपसचिव रहने गरी छानबिन समिति गठन गरेको जानकारी दिएका हुन्।

केटा–केटीको सहमतिमा विवाहका लागि गत शनिबार राति नवराज विक आफन्तलाई साथमा लिएर केटीको घरमा पुगेपछि उनीहरुमाथि आक्रमण भएको थियो।

राति करिब सवा १० बजे केटी सुष्मा मल्ललाई भगाउन लाग्दा घरपरिवारले गाउँले गुहारेको र चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्लको नेतृत्वमा गाउँलेले नवराज र उनका साथीलाई ढुंगामुडाले लखेटेका थिए। गाउँलेको लखेटाइबाट उनी जाजरकोट र रुकुमको सिमानामा रहेको भेरी नदीमा बगेर मृत्यु वरण गर्न बाध्य भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *