जन्मदिन विशेष : गोलको भकारी साबित्रा भण्डारी ‘साम्बा’

डिसी नेपाल
१३ जेठ २०७७ १३:१७

काठमाडौं । नेपाली महिला फुटबलमा गोल मेसिनको उपनामले चिनिने साबित्रा भण्डारी दक्षिण एसियाकै उत्कृष्ठ फरर्वाड हुन् । सन २०१४ मा पाकिस्तानमा सम्पन्न साफ महिला च्याम्पियनसिपदेखि राष्ट्रिय टिममा परेकी सावित्रालाई सर्मथकहरु नेपालको गोल मेसिन पनि भन्छन् । जस्तोसुकै कठिन अवस्थामा पनि खेललाई बदल्न सक्ने क्षमता भएको साबित्रा नेपाली टोलीको अग्रभागमा रहेर सँधै स्कोर बटुल्न सक्षम रहेकी खेलाडी हुन ।

लमजुङ जिल्लाको सिमपानी भन्ने गाउँमा वि.स. २०५४ जेठ १३ गते बुबा फम बहादुर भण्डारी र आमा मुना भण्डारीको कोखबाट जन्मलिएकी साबित्रा पनि बाल्यावस्थामा अन्य महिलाहरूको जस्तै दैनिकी बित्ने गर्दथ्यो । मध्यम वर्गीय परिवारमा जन्मिएकी साबित्रा भण्डारीले गाउँकै स्थानीय विद्यालयबाट एसएलसी पास गरेकी थिइन् । आमाबुवालाई घरायसी काममा सहयोग गर्ने, गाउँमै घाँस दाउरा गर्दै, उनले आफ्नो पढाईलाई अघि बढाएकी थिइन् ।

फुर्सदमा कपडाको फुटबल बनाएर खेल्ने साबित्राको दशैंताका गाउँमा हुने खसी तथा भाले कप फुटबल प्रतियोगिताहरूले उनमा फुटबल प्रतिको आकर्षण तथा रूचिमा भर्याङको काम गरेको थियो । तर, साबित्राको फुटबल खेल्ने रहरलाई महिला हुनुले भने रोक्न सकेको थिएन । उनी गाउँकै ठूला दाइहरुको टिममा मिसिएर खेल्ने गर्दथीन् । त्यसपछि पनि उनलाई फुटबलमा लाग्न थप हौसला मिलेको थियो र दशैबाहेक पनि उनि दाईहरूसँगै फुटबल खेलहरू खेल्न थालिन ।

२०७१ को दशैंअघि लमजुङ जिल्लाको धनपोखरामा महिला फुटबल प्रतियोगिता आयोजना भएको थियो । उक्त प्रतियोगितामा साबित्राले पनि सहभागीता जनाएकी थिइन् र उनको टिमले उक्त प्रतियोगिताको उपाधि जित्न सफल पनि भयो । विजेता भएसँगै उनको टिमले १५ हजार रूपैयाँ जितेको थियो । त्यस पछि उनी एपीएफ सेलेक्सनमा परिन् र छानिइन् पनि अनि काठमाडौं प्रशिक्षणका लागि आइन् । त्यसपछि साबित्राले फुटबलमा पछाडि फर्केर हेर्नू परेको छैन, उनी हालसम्म लगातार सफल हुँदै आइरहेकी छिन् ।

सावित्रा भण्डारी मैदानमा टिमको महत्त्वपूर्ण स्ट्राइकरमा रूपमा उत्रने गर्दछिन् । उनी खेल समयका क्रममा खेल मैदानमा निकै आक्रमक रुपमा प्रस्तुत हुने गर्छिन् । उनको तीव्र गतिका कारण विपक्ष टोलीका रक्षापङ्तिका खेलाडी तथा गोलरक्षकहरू उनलाई रोक्न हम्मेहम्मे पर्ने गर्दछिन् । उनी मैदानमा गोल गर्नकै लागि उत्रने गर्दछिन् । त्यसैले पनि उनलाई नेपाली महिला फुटबल जगतमा सदावहार गोल मेसिनका रुपमा पनि लिइने गरिन्छ । उनको तीव्र गति तथा कुसल खेल क्षमता एवम् शैलिकै कारण उनलाई दक्षिण एसियाकै उत्कृष्ट महिला फुटबल खेलाडीहरूको सुची राखिने गरिन्छ । साथै उनी विपक्षी खेलाडीहरूलाई छलाउदै आफ्नो खेलाडी साथीहरूलाई राम्रो गोल अवसर प्रदान गर्न समेत माहिर रहेकि छन् । अझ उनी फ्रिकीक प्रहारका निम्ति पनि दक्ष रहेकी छिन् । उनले क्लब तथा राष्ट्रका लागि फ्रिकिक मार्फतै निकै पटक गोल गर्न सफल भएकी छिन् ।

सावित्रा भण्डारीले सन् २०१४ को साफ च्याम्पियनसिपमा भुटानविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेकी हुन् । उनले नेपालका लागि हालसम्म ३० भन्दा बढी अन्तर्राष्ट्रिय गोल गरेकी सकेकी छिन् । उनले भुटान विरूद्धको आफ्नो डेब्यु खेलमै १ गोल गरेकी थिइन् । यसबाहेक आसामको सिलोङमा आयोजना भएको १२ औं सागमा श्रीलङ्काविरुद्ध २ गोल गरेकी थिइन् । सावित्राले भारतको पश्चिम बङ्गालस्थित सिलिगुढीमा भएको चौथो महिला साफ च्याम्पियनसिपको तीन खेलमा ११ गोल गरिसकेकी थिइन् । उनी नेपाली फुटबल इतिहासमा एउटै प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी मात्र होइन, एउटै खेलमा दोहोरो ह्याट्रिक गर्ने महिला तथा पुरूष खेलाडी पनि बन्न पुगेकी छिन् ।

१७ फेब्रुअरी २०१६, मा नेपाल भन्दा २६ स्थान माथिको मलेसियासँग भएको काठमाडौंमा भएको खेलमा उनले १ गोल गरेकी थिइन्ृ। उनको गोलसँगै नेपाली महिला टिमले पहिलोपटक मलेसिया महिला टिमलाई हराएर एक नयाँ इतिहास रचेको थियो । भने नेपाली घरेलुु दर्शकहरूको माया जित्न सफल भएको थियो । यस्तै सावित्राले २२ मे २०१७ का दिन मलेसियाको घरेलु मैदानमा भएको खेलमा समेत मलेसिया विरुद्ध गोल गर्न सफल भएकि थिइन् ।

साथै साबित्राको नाममा एकै खेलमा सर्वाधिक ६ अन्तर्राष्ट्रिय गोल गर्ने नेपाली महिला खेलाडी, एकै अन्तर्राष्ट्रिय खेलमा दोहोरो ह्याट्रिक गर्ने पहिलो नेपाली खेलाडी (महिला र पुरूष), कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सर्वाधिक गोल गर्ने नेपाली खेलाडी, नेपाल राष्ट्रिय महिला लिग को एकै सिजनमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी, नेपाली फुटबलमा एकै वर्षमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी, हिरो महिला गोल्डकप (भारत) को सर्वाधिक गोलकर्ता, सबैभन्दा पहिले अन्तर्राष्ट्रिय व्यवसायिक महिला प्रतियोगितामा सहभागीता जनाउने नेपाली खेलाडी, भारतीय महिला लिगमा सर्वाधिक छिटो गोल गर्ने खेलाडी र नेपाली महिला फुटबल टिमको सर्वाधिक उच्च गोलकर्ता जस्ता किर्तिमानहरु रहेको छ ।

वि.स. २०५४ जेठ १३ गते लमजुङ जिल्लाको सिमपानीमा जन्मेकी साबित्रा आज २२ औ बसन्त पुरागर्दै २३ औं बसन्तमा प्रबेश गरेकी छिन । डिसी नेपाल डटकम लगायत सम्पूर्ण फुटबल सर्मथकहरुको तर्फबाट साबित्रा भण्डारीलाई उनको फुटबल करियर अझ धेरै उचाईमा पुगेको हेर्न पाईयोस भन्दै जन्मदिनको धेरै धेरै शुभकामना दिन चाहन्छौ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *