प्रधानमन्त्रीद्वारा विश्व अर्थ व्यवस्थामा आमूल परिवर्तन गर्न आग्रह

डिसी नेपाल
१६ जेठ २०७७ १९:४०

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साना र ठ्ूला तथा धनी र गरिब राष्ट्रबीचका लागि समावेशी विश्व आर्थिक पद्धति स्थापित गर्न विश्व समुदायसँग आग्रह गरेका छन् ।

‘कोरोना महामारी र यसपछिका चरणमा विकासका लागि लगानी’ विषयको राष्ट्रसङ्घीय उच्चस्तरीय भर्चुअल संवादमा गए राति सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वका हरेक अर्थतन्त्रलाई माथि उकास्न दिन त्यस प्रकारको अर्थप्रणाली आवश्यक भएकाले विद्यमान विश्व आर्थिक व्यवस्थाको ढाँचामा आमूल परिवर्तन गर्न आग्रह गरेका हुन् ।

राष्ट्रसङ्घका महासचिव तथा क्यानडा र जमैकाका प्रधानमन्त्रीहरुद्वारा आयोजित सो संवादमा प्रधानमन्त्री ओलीले कोभिड १९ विरुद्ध विकास भइरहेका खोपको वैज्ञानिकताका लागि परीक्षण हुनुपर्ने उल्लेख गर्दै त्यस्ता खोप धान्न सकिने हुनुपर्नेमा पनि जोड दिए । उनले कोरोना महामारीको भयावहतालाई ध्यान दिएर यस अग्निपरीक्षाबाट पार पाउन सामाजिक क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने बताए । “महामारीको सन्त्रासको अवस्थामा हामीले कसैलाई पनि अलग नगरीकन आपसमा मिलेर उचित रोकथाम गरी पुनःस्थापना र पुनःनिर्माणको सुनिश्चितता गर्नुपर्नेछ,” प्रधानमन्त्री ओलीले भने – “यो हाम्रा बहुपक्षीय संस्था र प्रक्रियालाई सबल बनाउने समय हो ।”

“दिगो आर्थिक–सामाजिक आधारस्तम्भका लागि हामी आर्थिक नीतिमा पुनःताजगीकरण र आफ्ना मुलुकका आन्तरिक स्रोतको परिचालन भएको हेर्न चाहन्छौँ,” प्रधानमन्त्री ओलीले भने – “हामीले अन्तर्राष्ट्रिय व्यापार प्रणालीलाई सामूहिक समृद्धिका लागि निष्पक्ष र न्यायोचित बनाउनुपर्छ । व्यापार युद्धमा लाग्नुहुन्न र संरक्षणवादको प्रतिरोध गर्नुपर्छ ।”

आफ्ना नागरिकको जीवनरक्षा नै पहिलो कार्यभारमा पर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले विश्व स्वास्थ्य सङ्गठनले अहिलेको समयमा नेतृत्वदायी भूमिका निर्वाह गरेकामा आभार व्यक्त गरे । उनले ‘जि–२०’ का राष्ट्रहरु र अन्तर्राष्ट्रिय मुद्रा कोषका पहललाई स्वागत गर्दै अझै प्रभावकारी काम हुनुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले ‘ओडिए’, प्रत्यक्ष वैदेशिक लगानी, व्यापार, ऋण सहुलियत, विकास र प्रविधिको हस्तान्तरणमा अन्तर्राष्ट्रिय सहायताका मापदण्ड पूरा हुनुपर्ने खाँचो पनि औँल्याए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *