जापानले लकडाउन नगरी कोरोनाभाइरसलाई जित्यो, यस्ता वैकल्पिक उपाय अपनायो

डिसी नेपाल
१९ जेठ २०७७ ९:३०

काठमाडौं। कोरोनाभाइरस नियन्त्रणका लागि विश्वका धेरै देशहरुले लकडाउनलाई प्रमुख उपायका रुपमा अपनाए । नेपालले त अहिले लकडाउनबाहेक अरु हतियारको उपयोग अत्यन्तै न्यून रुपमा गरिरहेको छ । कोरोनाभाइरससँग लड्नको लागि नेपालमा भएको भनेकै लकडाउन हो । तर, नेपालभन्दा कैयौं समय पहिल्यै ठूलो संख्यामा संक्रमण फैलिइसकेको देश जापानले भने लकडाउन नै गरेन तर पनि उनले कोरोनाभाइरसलाई भने जित्यो ।

जापानले पूर्ण लकडाउन नगरेको भन्दै विश्वका धेरै देशले आलोचना गरे तर जापानले कहिल्यै पूर्ण लकडाउन गरेन । त्यहाँ संकटकाल लागू गरियो । संकटकालको बेलामा निश्चित कुरामा सावधानी अपनाउनुपर्ने नियम बनाइएको थियो तर घरबाहिर निस्कन र काम गर्न कहिल्यै प्रतिबन्ध लगाइएन । जापानका नागरिक सावधानीका साथ आवश्यक कामको लागि घरबाहिर निस्कन सक्थे काममा जान पनि सक्थे । यसले उनीहरुको अर्थतन्त्र पनि चलायमान बनिरह्यो ।

यसअघि लकडाउन नगरी दक्षिण कोरियाले पनि कोरोनाभाइरसलाई जितेको थियो । दक्षिण कोरियाले लकडाउन नगरेको भए पनि विश्व स्वास्थ्य संगठनले बताएको अर्को उपाय बढीभन्दा बढी परीक्षणलाई प्रमुखता दियो र धेरैभन्दा धेरै परीक्षण गर्न थाल्यो । जसले गर्दा संक्रमितलाई छुट्याएर उपचार गर्न सकियो र कोरोनाभाइरस नियन्त्रण भयो । तर, जापानले न त लकडाउन गर्यो न त अरु देशको तुलनामा ठूलो संख्यामै परीक्षण गर्यो । उसले गम्भीर बिरामीको मात्र परीक्षण गरेको थियो जो कूल जनसंख्याको ०.२ प्रतिशत मात्र हुन् । तैपनि उसले कोरोनाभाइरसलाई भने जित्यो।

जापानले भाइरस नियन्त्रणमा लागि ‘कन्ट्याक्ट ट्रेसिङ’लाई मुख्य हतियार बनायो । जापानको कन्ट्याक्ट ट्रेसिङ रणनीति सफल भएपछि उसले अन्ततः कोरोनाभाइरसलाई जित्यो । जापानमा कूल संक्रमित १६ हजार ८५१ मध्ये १४ हजार ४५९ जना निको भएका छन् । ८९१ जनाको मृत्यु भएको छ । अहिले त्यहाँ उपचाररत संक्रमित एक हजार ५०१ जना छन् । यो संख्या प्रत्येक दिन घटिरहेको छ । दैनिक ५० भन्दा कम नयाँ संक्रमित भेटिन्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *