न्यूजिल्याण्डका वैज्ञानिकहरुले किन कोरोनाभाइरसलाई ‘बिरुवाजस्तै’ उमारिरहेका छन् ?

डिसी नेपाल
१९ जेठ २०७७ ११:००

काठमाडौं। न्यूजिल्याण्डका वैज्ञानिकहरुले त्यहाँका प्रयोगशालाहरुमा कोरोनाभाइरसलाई ‘बिरुवाजस्तै’ उमारिरहेका छन् । कोरोनाभाइरसका बिरामीहरुबाट नमूना लिएर प्रयोगशालामा अध्ययन गरिँदैछ । तर, यो अध्ययनलाई व्यापक रुप दिन सार्स सीओभी २ भाइरसलाई वैज्ञानिकहरुले एक खास तरिकाबाट उमारिरहेका छन् । भाइरल कल्चर विधिको प्रयोग गरेर वैज्ञानिकहरुले सार्स सीओभी २ को अध्ययन गरिरहेका छन् ।

यो अध्ययनका क्रममा वैज्ञानिकहरुलाई प्राप्त हुने जानकारीबाट भ्याक्सिन निर्माण र उपचारमा सहयोग प्राप्त हुन्छ । न्यूजिल्याण्डको इन्भाइरोनमेन्टल साइन्स एण्ड रिसर्च लिमिटेड (इएसआर) को तर्फबाट यो अध्ययन भइरहेको न्यूजिल्याण्ड हेराल्डले जनाएको छ । ओटागो युनिभर्सिटीका प्राध्यापक मिगुएल क्यू मतेउका अनुसार अन्य प्रयोगशालामा पनि इनएक्टिभेटेड भाइरल कल्चरको निकै धेरै माग हुन्छ । अहिले न्यूजिल्याण्डमा पनि कोरोनाभाइरसको भाइरल कल्चर भइरहेको हो ।

भाइरल कल्चर प्रविधिमा काम गर्नको लागि उच्च सुरक्षासहितको प्रयोगशालाको प्रयोग गरिन्छ ताकि प्रयोगशालाबाट बाहिर भाइर फैलिने खतरा नरहोस् । इएसआरमा भाइरोलोजी टिमकी प्रमुख लरेन जेलीले भाइरल कल्चरमा काम गर्नु चुनौतीपूर्ण हुने बताइन् । उनले भनिन् ‘हामी भाग्यशाली रह्यौं किनकि अन्य देशहरुमा भाइरसका विषयमा जे जति कामहरु भइसकेका छन् त्यसबाट हामीले धेरै कुराहरु सिकेका छौं ।’

लरेन जेलीले अगाडि भनिन् ‘भाइरल कल्चर बिरुवाको बागवानी गर्ने जस्तै हो । यदि तपाइँ बिरुवाहरु राम्रोसँग उमार्न सक्नुहुन्छ भने राम्रोसँग कोषहरुलाई कल्चर गर्न सक्नुहुन्छ । यसको माध्यमबाट भाइरसलाई आइसोलेट गर्न सकिन्छ ।’ जेलीका अनुसार यी वैज्ञानिकहरुको मुख्य काम भनेको कोषहरुको विकास कसरी भइरहेको छ र कसरी तिनीहरुलाई स्वस्थ र राम्रो स्थितिमा राख्न सकिन्छ भन्ने हेर्नु हो । उनले न्यूजिल्याण्डमा भाइरसमाथि भइरहेको रिसर्चलाई अन्तर्राष्ट्रिय स्तरमा साझा गर्न सकिने बताइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *