गण्डकी प्रदेश सरकारले सागका पदक विजेता खेलाडीलाई पुरस्कृत गर्ने

डिसी नेपाल
१९ जेठ २०७७ २१:५१

कास्की । गण्डकी प्रदेश सरकारले १३ औँ दक्षिण एशियाली खेलकुद (साग)मा गण्डकी प्रदेशबाट सहभागी भई पदक विजेता खेलाडीलाई नगदसहित पुरस्कृत गर्ने भएको छ । प्रदेश सरकारको आइतबारको मन्त्रिपरिषद् बैठकले पदक विजेता खेलाडीलाई पुरस्कृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए।

सरकारले व्यक्तिगततर्फ स्वर्ण विजेतालाई रु एक लाख, रजत पदकलाई रु ७५ हजार तथा काँस्य पदकलाई जनही रु ५० हजारका दरले पुरस्कृत गर्ने निर्णय गरेको छ । समूहतर्फ स्वर्ण विजेतालाई रु ७५ हजार, रजतलाई रु ५० तथा काँस्य पदकलाई रु ३० हजार नगद पुरस्कार प्रदान गर्ने भएको । त्यसैगरी प्रशिक्षकलाई समेतलाई जनही रु ३० हजार, रु १५ हजार रु १० हजारका दरले सरकारले नगद पुरस्कार दिने भएको छ ।

मन्त्री बस्नेतले कोभिड–१९ को अहिलेको विषम अवस्थाका कारणले तत्कालै पुरस्कार प्रदान गर्न नसकिएकाले उपयुक्त समयमा खेलाडीहरुलाई घोषित नगद पुरस्कार प्रदान गरिने बताए । सागमा व्यक्तिगत र टिम इभेन्टमा गरी गण्डकीका कूल ३७ जना खेलाडीले चार स्वर्ण, २३ रजत र १६ काँस्य गरी ४३ पदक जितेको पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणनाथ योगीले जानकारी दिए।

लमजुङका पार्वती गुरुङ र स्याङ्जाकी प्रशंसा क्षेत्री (तेक्वान्दो) र बाग्लुङका नवीन रसाइली (कराँते) मा स्वर्ण पदक जित्न सफल भएका थिए। फुटबलमा सुमन अर्याल (नवलपुर)ले समूहतर्फ स्वर्ण पदक जितेका थिए । गत वर्ष मङ्सिर १५ देखि २४ गतेसम्म सञ्चालन भएको १३ औँ सागअन्तर्गत विभिन्न आठ खेल गण्डकी प्रदेशको राजधानी शहर पोखरामा खेलाइएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *