फ्रान्सकै वैज्ञानिकको अध्ययन भन्छ – ‘कोरोनाभाइरस चीनबाट होइन फ्रान्सबाट सुरु भएको हो’

डिसी नेपाल
२० जेठ २०७७ १४:५३

काठमाडौं। फ्रान्सका वैज्ञानिक तथा डाक्टरहरुको एक टिमले युरोपमा कोरोनाभाइरसको पहिलो केस जनवरीमा नभइ त्योभन्दा धेरै पहिले आएको अध्ययनका क्रममा पाइएको दावी गरेका छन् । वैज्ञानिकको अध्ययनको निष्कर्षमा युरोपमा पहिलो केस २०१९ को नोभेम्बरमै आएको दावी गरिएको छ । वैज्ञानिकहरुका अनुसार त्यतिबेला डाक्टरहरुले यो रोगको लक्षण बुझ्न नसकेका कारण यसलाई कोरोनाभाइरसको रुपमा रेकर्डमा राखिएन ।

यदि वैज्ञानिकको यो अध्ययनको नतिजाको पुष्टि भएमा पूरै विश्वको ध्यान चीन र यहाँको शहर वुहानमाट उठेर फ्रान्सतर्फ जान सक्छ । फ्रान्सका डाक्टरहरुका अनुसार युरोपको पहिलो केस १६ नोभेम्बर २०१९ मा फ्रान्सको कोलमार शहरमा भेटिएको थियो । एनबीसी न्यूजको रिपोर्टअनुसार फ्रान्सको उत्तर पूर्वमा रहेको यो शहरको एक अस्पतालमा नोभेम्बरदेखि लिएर डिसेम्बरसम्म फ्लुको समस्या लिएर २५०० भन्दा धेरै बिरामी आएका थिए ।

डाक्टरहरुले यी सबैको एक्स रे रिपोर्ट जाँच गरे । यीमध्ये केवल २ जनाको एक्स रेमा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको छ । तर, त्यतिबेला डाक्टरहरुलाई यो रोग र यसका लक्षणहरुको बारेमा जानकारी थिएन त्यसैले यी संक्रमणका केसहरु रेकर्डमा राखिएनन् । कोलमारको अल्बर्ट श्वित्जर अस्पतालका डा. माइकल श्मिट र उनको टिमले अहिलेसम्म जसलाई युरोपका देशहरुमा केस जीरो मानिएको छ ती दावी गलत पनि प्रमाणित हुन सक्ने बताएका छन् ।

टिमले चीनमा कोरोनाभाइरसको पहिलो केस आउँदै नआएको हुन सक्ने दावी गरेको छ किनकि यो संक्रमणले नोभेम्बरसम्ममा त युरोपमै केही व्यक्तिहरलाई आफ्नो चपेटामा लिइसकेको थियो । जबकि, फ्रान्सले आफ्नो देशमा पहिलो आधिकारिक केसको रिपोर्ट २४ जनवरी २०२० मा दिएको थियो । अहिलेसम्म कोरोनाभाइरसको उद्गम स्थल चीनको वुहानलाई मानिँदै आइएको छ तर चीनले ३१ डिसेम्बर २०१९ मा मात्र कोरोना संक्रमणको जानकारी विश्वलाई दिएको थियो । कोरोना संक्रमणको आधिकारिक पुष्टि ७ जनवरीमा भएको थियो ।

अमेरिकी खुफिया एजेन्सीले चीनमा कोरोनाको संक्रमण नोभेम्बरमै फैलिएको दावी गरेको थियो । डा. श्मिट भन्छन् ‘सबैभन्दा पहिलो बिरामी पत्ता लगाएपछि रोगको संक्रमण फैलिने र त्यसको प्रभावको अध्ययन सजिलैसँग गर्न सकिन्छ । साथमा भ्याक्सिन बनाउन पनि सहयोग प्राप्त हुन्छ ।’ डा. श्मिटले यदि हामीले इतिहास जान्न सक्यौं भने भविष्य सुधार गर्न सकिने बताए ।

उनले अगाडि भने ‘अहिले त हामीले यो बुझ्न सकिरहेका छैनौं कि यो संक्रमण कहाँबाट फैलिन सुरु भयो तर हामीसँग दुई केस हिस्ट्री छन् जो कोरोना सक्रमण लिएर १६ नोभेम्बरमै अस्पताल आएका थिए ।’ वाशिङटन युनिभर्सिटीका पल्मोनोलिस्ट डा. विन गुप्ताले आफूले डा. श्मिटको रिपोर्ट पढेको बताउँदै भने ‘रिपोर्ट सिलसिलेवार लेखिएको छ । सही पनि छ । डा. श्मिटसँग यसको प्रमाण पनि छन् । हुन सक्छ चीनभन्दा पहिले सुरुवाती कोरोनाभाइरसका लक्षण यस्तै थिए जस्तो यहाँका २ बिरामीको एक्सरेमा देखिएका छन् ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *