बुन्डेसलिगामा वेर्डर ब्रेमेनलाई रेलिगेसनको खतरा

डिसी नेपाल
२३ जेठ २०७७ १०:५६

काठमाडौं । बुन्डेसलिगामा ब्रेमेन घरेलु मैदानमा फ्रान्कफर्टसँग ३–० ले पराजित भएको छ । आइनट्राख्ट फ्रान्कफर्टसँगको हारसँगै बुन्डेसलिगामा वेर्डर ब्रेमेनलाई रेलिगेसनको खतरा पनि बढेको छ । घरेलु टोलीलाई पराजित गर्न फ्रान्कफर्टका स्टेफन इसानकरले दुई तथा आन्द्रे सिल्भाले एक गोल गरे ।

निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिए पनि फ्रान्कफर्टले दोस्रो हाफमा ३ गोल गर्न सफल भयो । फ्रान्कफर्टका लागि खेलको ६१औं मिनेटमा पोर्चुगिज आन्द्रे सिल्भाले फिलिप कोस्टिकको पासमा गोल गर्दै फ्रान्कफर्टलाई खेलमा १–० ले अघि बढाएका थिए । त्यसपछिको दुवै गोल स्टेफनको नाममा रह्यो । स्टेफनले १० मिनेटको अन्तरमा दुई गोल गर्न सफल भए । खेलको ८१औं मिनेटमा बास डोस्टको पासमा पहिलो गोल गरेका स्टेफनले ९०औं मिनेटमा जोनाथन डि गुजमनको पासमा अर्को गोल गर्दै फ्रान्कफर्टलाई ३–० को सहज जित दिलाएका थिए ।

जितसँगै फ्रान्कफर्ट २९ खेलबाट ३५ अंकका साथ ११औं स्थानमा उक्लदा पराजित वेर्डर ब्रेमेनले रेलिगेसन जोन छाड्ने मौका खेर फालेको छ । ब्रेमेन २५ अंकसहति १७ औं स्थानमा यथावत् रहेको छ । १९ अंकसहित पाडेरवर्न पुछारमा छ । बायर्न म्युनिख ६७ अंक जोडेर शीर्षस्थानमा रहँदा बोरुसिया डर्टमुन्ड (६०) र आरबी लाइप्जिग (५८) ले बायर्नलाई पछ्याइरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *