अण्डरवर्ल्ड डन दाउद इब्राहिमको कोरोनाभाइरसका कारण मृत्यु भएको दावी

डिसी नेपाल
२४ जेठ २०७७ १५:०७

काठमाडौं। अण्डरवर्ल्ड डन दाउद इब्राहिमको कोरोनाभाइरसका कारण मृत्यु भएको अनुमान गरिएको छ । उनको बारेमा बाहिरी विश्वलाई निकै कम थाहा हुने भएकोले यसको पुष्टि भने हुन सकेको छैन तर कैयौं अन्तर्राष्ट्रिय रिपोर्टहरुमा उनको मृत्यु भइसकेको आशंका गरिएको छ । शुक्रबार मात्रै इन्टेलिजेन्सको हवाला दिँदै अन्तर्राष्ट्रिय मिडियाहरुले दाउद र उनकी पत्नी कोरोनाभाइरसबाट संक्रमित भएको र पाकिस्तानको कराचीस्थित आर्मी अस्पतालमा उपचार भइरहेको लेखेका थिए ।

रिपोर्टमा दाउदको अवस्था गम्भीर भएको बताइएको थियो । लगत्तै शनिबार उनको मृत्यु भएको दावीसहितका समाचार प्रकाशित भएका छन् । यसको पुष्टि भने कतैबाट भएको छैन । शुक्रबार नै दाउदका भाइ अनिसले दाउद संक्रमित भएको खबर गलत भएको बताएका थिए । अनिसले डी कम्पनीले दुबइ र पाकिस्तानमा व्यवसाय गरिरहेको बताएका थिए । अनिसले नै अहिले दाउदको डी कम्पनीको सबै कामहरु हेर्ने गरेका छन् । दाउदको नेटवर्कलाई डी कम्पनीको नामले चिनिन्छ । दाउद मोस्ट वान्टेड डन भएको र उनको मृत्युको खबरले डी कम्पनीलाई ठूलो धक्का लाग्ने भएकोले अनिसको खण्डनलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

शुक्रबार राती इन्टेलिजेन्स स्रोतको हवाला दिँदै आएका समाचारहरुमा कराचीको क्लिफ्टन इलाकामा बस्ने दाउद र उनकी पत्नी कोरोना संक्रमित भएको बताइएको थियो । दुवैको कराचीस्थित आर्मी अस्पतालमा उपचार भइरहेको र दाउदको अवस्था गम्भीर रहेको बताइएको थियो । रिपोर्टमा पाकिस्तानी सेनाको इन्टेलिजेन्स युनिट र पाकिस्तानी गुप्तचर एजेन्सी आइएसआइले उनीमाथि निगरानी गरिरहेको बताइएको थियो ।

दाउदको स्वास्थ्यका विषयमा भइरहेका अनुमानको बीच समाचार एजेन्सीले उनका भाइ अनिससँग कुरा गरेको थियो । अनिसले दाउदको परिवारको कुनै पनि सदस्य संक्रमित नभएको दावी गर्दै खबरको खण्डन गरेका थिए । अनिस कहाँ छन् भन्ने प्रस्ट छैन । अनिसले समाचार एजेन्सीसँग दाउद र उनका दाहिने हात मानिने छोटा शकील स्वस्थ रहेको, कोही पनि कोरोना पोजेटिभ नरहेको र कोही पनि अस्पतालमा नभएको बताएका थिए ।

पाकिस्तानको गुप्तचर एजेन्सी आइएसआइको संरक्षणमा दाउद इब्राहिम कराचीमा बस्दै आएको भारतसहितका देशले आरोप लगाउने गरेका छन् तर उनी कहाँ छन् भन्ने प्रस्ट छैन । दाउदमाथि १९९३ मुम्बइ सिरियल बम विष्फोट समेत कैयौं आरोप छन् । पाकिस्तानले भने दाउद र उनको परिवार पाकिस्तानमा भएको दावी अस्वीकार गर्दै आएको छ । दाउदकी छोरी माहरुखको बिहे पाकिस्तानका पूर्व क्रिकेट कप्तान जावेद मियाँदादका छोरा जुनैदसँग भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *