औपचारिक निर्णय नहुँदै चहलपहल, सरकार भन्छ- सङ्क्रमण बढ्न सक्छ

डिसी नेपाल
२६ जेठ २०७७ ६:४३

काठमाडौँ। कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले बन्दाबन्दी (लकडाउन) सुरु गरेको ७६ दिनपछि आइतबार राजधानीमा केही चहलपहल बढेको छ।

गत वर्ष चैत ११ गतेबाट बन्दाबन्दी घोषणा गरिएको हो। सरकारले बन्दाबन्दी खुकुलो पार्नेसम्बन्धी आधिकारिक निर्णय सार्वजनिक नगरे पनि आइतबार विभिन्न कामका लागि स्वतःस्फूर्त रूपमा घर बाहिर निस्कने सर्वसाधारणको चहलपहल देखियो।

गृह मन्त्रालयले बन्दाबन्दी खुकुलो पार्ने सम्बन्धमा कुनै निर्णय भइनसकेको अवस्थामा सर्वसाधारण आफूखुसी सडकमा निस्कँदा कोरोनाको जोखिम बढ्दै जाने चेतावनी दिएको छ। गृह प्रवक्ता केदारनाथ शर्माले यस विषयमा निर्णय भइसकेको छैन, सङ्क्रमण बढ्न सक्छ भनेका छन्।

काठमाडौँ उपत्यकाको सडकमा यातायातका सवारी साधनको बाक्लो चाप देखिन्थ्यो। सार्वजनिकभन्दा निजी सवारी साधनमा कार, मोटरसाइकल र ट्याक्सीलगायतका सवारी साधन प्रशस्त मात्रामा चलेका छन्।

अन्य दिनको तुलनामा सडकमा पैदल हिँडेर गन्तव्य जाँदै गरेका सर्वसाधारण तथा बन्दाबन्दीको उकुसमुकुसबाट घर बाहिर निस्कनेको चाप बाक्लै देखिन्थ्यो। विभिन्न बैङ्कमा ग्राहकको बाक्लो भीड नै लागेको थियो।

गोरखापत्र दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *