घर पठाइएका ८७ लाई संक्रमण, क्वारेन्टाइनमा फर्किन मान्दैनन्, घरमै छन्

डिसी नेपाल
२६ जेठ २०७७ ८:२०

दैलेख । दैलेखको नारायण नगरपालिका–४ सोतका राजु (नाम परिवर्तन) जेठ ७ मा भारतको गुजरातबाट सदरमुकाम आइपुगे । नारायण क्याम्पसको क्वारेन्टाइनमा १४ दिन बसेपछि उनलाई मंगलबार आरडीटी परीक्षण गरेर घर पठाइयो । त्यतिबेलासम्म उनको पीसीआर परीक्षणको रिपोर्ट आइसकेको थिएन ।

‘वडाध्यक्षले हिजो (शनिबार) फोन गरेर ‘तपाईंहरूको रिपोर्ट बिग्रियो’ भनेर बोलाएपछि यता आएको हुँ,’ हाल महेन्द्र माविको क्वारेन्टाइनमा बसिरहेका उनले भने, ‘यस्तो रिपोर्ट आउनु थियो भने पहिले किन घर पठाएका हुन्, रनभुल्लमा परेको छु ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।

कोरोना संक्रमण भएर पनि ५ दिनसम्म घरमा बसी पुन: क्वारेन्टाइनमा फर्किएका राजु एक्लो होइनन् । स्वाब परीक्षणको रिपोर्ट ढिलो आउँदा उनीजस्तै ८७ जना व्यक्ति अहिले रनभुल्लमा छन् । सोतका ३१ जना र बेलासपुरका १० जनालाई गाउँबाट फिर्ता बोलाइए पनि अन्य अझै फर्किसकेका छैनन् । गाउँबाट फर्केकाहरू भन्छन्, ‘कोरोना छैन भनेपछि ढुक्कले घर गइयो, आफन्त र परिवारसँग भेटघाट गरियो, अहिले फेरि पक्राउ गरेजस्तै गरेर ल्याइएको छ ।’

स्थानीय तहका जनप्रतिनिधि र सुरक्षाकर्मीको सहयोगमा आइतबार दिउँसो नारायण क्याम्पस पुर्‍याइएका बेलासपुरका १० जना आइसोलेसनमा नबस्ने अड्डी कसिरहेका थिए । तीमध्येका ६५ वर्षीय एक वृद्ध क्वारेन्टाइनमा पुगेका सशस्त्र प्रहरी बलका डीएसपी जीवन भट्टराईलाई प्रश्न गर्दै थिए, ‘भारतबाट हिँडेको एक महिना पुग्न लाग्यो, त्यता (भारत) र यता (नेपाल) गरेर चारपटक खुन र खकार जँचाइसकें, अहिले आएर घर गइसकेको मान्छेलाई किन बोलाइयो ?’ आफूमा कुनै लक्षण नदेखिएकाले क्याम्पसको क्वारेन्टाइनमा भन्दा घरमै बस्ने व्यवस्था मिलाउन उनले आग्रह गरिरहेका थिए ।

पछिल्लो समय दैलेख कोरोनाको ‘हटस्पट’ बनेको छ । आइतबारसम्म कर्णालीमा ६ सय ४१ जनामा कोरोना संक्रमण देखिएकामा दैलेखका मात्र ३ सय ५८ जना छन् । एक जनाको क्वारेन्टाइनमै मृत्यु भइसकेको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल संक्रमण बढ्नुको प्रमुख कारण संक्रमितहरूको समयमै पहिचान नहुनु र उनीहरू संक्रमण बोकेर क्वारेन्टाइनमै बसिरहनु रहेको बताउँछन् । गाउँमा गएका व्यक्तिहरूका कारण संक्रमण थप फैलिने उनको चिन्ता छ । ‘एकातिर संकलन गरेर पठाइएको स्वाबको रिपोर्ट ८–१० दिनपछि मात्र आउँछ, अर्कोतिर सरकारले २ हप्तासम्म क्वारेन्टाइनमा बसेका मान्छेलाई आरडीटी गरेर पठाउन निर्देशन दिएको छ, यसले गर्दा पनि जटिलता आइलागेको हो,’ उनले भने, ‘भारतबाट आउने मान्छेको भार थेग्न नसक्दा हामीले आरडीटीको भरमा घर पठाएका हौं ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *