कर्णालीमा बग्यो मजदूरको कमाइ, तुहियो धुमधामसँग विवाह गर्ने सपना

डिसी नेपाल
३० जेठ २०७७ ८:३०

काठमाडौं। धुमधामसँग बिहे गर्ने योजना थियो। त्यही सपना पूरा गर्न रास्कोटका मानबहादुर बम र दैलेख गैरागाउँकी राधिका शाही भागेर भारत गए। एक वर्षसम्म दुवैले उतै पसिना बगाए।

बिहेका लागि खर्च जुटाएर गाउँ फर्किए । तर यो जोडीको धुमधाम बिहे गर्ने सपना कर्णालीमा बगेको अबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा कालिकोटबाट बिस्नप्रसाद न्यौपानेले लेखेका छन्।

लालीघाटमा बुधबार भएको टिपर दुर्घटनामा उनीहरूले मुस्किलले ज्यान त जोगाए । तर बिहेका लागि भनेर ल्याएको सबै कमाइ र सामान कर्णालीमा बगेको छ।

मानबहादुरले भने, ‘बिहेका लागि भने अढाई तोला सुन, एक लाख ५० हजार नगद र सामान ल्याएका थियौं, सबै टिपरसँगै कर्णालीले बगायो ।’ घर पुगेर धुमधाम बिहे गर्ने योजना तत्कालका लागि तुहिएको उनले सुनाए।

रास्कोट ३ का धनरूप कुमालको पनि सपना छुट्टै थियो । उनी यो वर्ष पत्नीसहित भारत गएका थिए । धेरै पैसा कमाएर ल्याउने आशमा गत पुसमा उनीहरू भारत गएका थिए । दुईजनाको कमाईले लुगालत्ता तथा खाद्यान्न किन्ने र छोरालाई बोर्डिङ स्कुलमा पढाउने सपना थियो यो जोडीको । खर्च कटाएर ६५ हजार बचाएका थिए । १५ हजारका लुगा किने।

तर उनीहरूको सपना पनि कर्णालीमा बग्यो । ‘कपडासँगै ५० हजार उनैले राखेकी थिइन्’, धनरूपले भने, ‘दुर्घटनामा सबै कमाइ बग्यो, उनलाई पनि जोगाउन सकिनँ।’

टिपर दुर्घटना भएपछि जिल्लाका धेरै परिवारको खुसी खोसिएको छ । भारतबाट कमाएर ल्याउने आशमा गएका सबै रित्तो हात भएका छन् । बल्लतल्ल केहीले ज्यान जोगाए पनि सबैको कमाइ नदीमा बगेको छ।

लालीघाटमा भएको दुर्घटनामा तीनको मृत्यु भएको छ भने दुईजना बेपत्ता छन् । भारतबाट आएकालाई क्वारेन्टाइनतर्फ लैजाँदै गर्दा ३९ जना चढेको टिपर कर्णालीमा खसेको थियो।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले लालीघाट टिपर दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका आफन्तलाई उचित राहत दिने आश्वासन दिएका छन् । बिहीबार बिहान मृतकका आफन्तसँग उनले पीडितलाई स्थानीय सरकार र प्रदेश सरकारले उचित राहतको व्यवस्था गर्ने आश्वासन दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *