रुकुम घटना : प्रहरीले जोगाएन प्रमाण

डिसी नेपाल
३० जेठ २०७७ ९:०९

रुकुम पश्‍चिम । जाजरकोट भेरी नगरपालिका–४, रानागाउँका नवराज विक दुई साथीसहित वैशाख १७ गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोती पुगे । सोतीमा उनकी प्रेमिका थिइन् तर उनलाई भेट्न नपाउँदै चौरजहारी इलाका प्रहरी कार्यालयबाट केही प्रहरी आए, नवराजसहित तीनै जनालाई समातेर लगे ।

सोतीका वडाध्यक्ष डम्बरबहादुर मल्लले फोन गरेकै भरमा उनीहरूलाई पक्राउ गरिएको थियो । किशोरीका छिमेकी र आफन्त हुन्, वडाध्यक्ष । भोलिपल्ट रानागाउँबाट नवराजकी आमा उर्मिला चौरजहारी पुगिन्, छोरालाई छोडिदिन प्रहरीसँग बिन्ती गरिन् । प्रहरीले वडाध्यक्षलाई सोधे । वडाध्यक्षले परिवारको जिम्मा लगाएर छोडिदिन ‘आदेश’ दिए । प्रहरीले त्यही गर्‍यो । सर्त थियो, अब उप्रान्त नवराज सोतीमा नआउने । अर्थात्, वडाध्यक्षको फोनकै भरमा प्रहरीले नवराजहरूलाई समात्यो, फोनकै भरमै छोडिदियो ।

देखावटी आरोप थियो– लकडाउन उल्लंघन । तर, खास कारण थियो– मल्ल थरकी किशोरीबाट नवराजलाई टाढा राख्ने । त्यतिबेला स्थानीय युवाले नवराजलाई पिटेका थिए । यसको खुलासा किशोरीकै पारिवारिक स्रोतले कान्तिपुरसँग गरेको छ । तर, प्रहरीले नजरअन्दाज गरिदियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रेमिकाका आफन्त र प्रहरीबाट नवराजलाई जान ‘बन्देज’ थियो तर प्रेमिकाले बोलाएपछि उनी जेठ १० गते सोती पुगे । त्यतिबेला उनका साथमा अरू १८ साथी थिए । प्रेमिका ल्याउन त पाएनन् नै, फर्कंदा सोतीका स्थानीयको बर्बर आक्रमणमा परे, नवराज र उनका पाँच साथीको हत्या भयो । अरू १२ जना घाइते भए । यो पाशविक घटनाको बीजारोपण त्यही वैशाख १७ मा भएको थियो । जुन दिन प्रहरीले औपचारिक जाहेरीबिनै नवराजलाई एक रात थुनेको थियो । जसरी त्यतिबेला वडाध्यक्षको लकडाउन उल्लंघनको झूटो आरोपलाई पत्याउँदै प्रहरीले नवराजलाई पक्रेको थियो, करिब उही शैलीमा जेठ १० गते पनि प्रहरी घटनास्थल पुगेको देखिन्छ । त्यो दिन पनि वडाध्यक्षले नै ‘भेरीका केटा आएर लकडाउन उल्लंघन गरे, होहल्ला गरे’ भनेर फोन गरेका थिए, प्रहरी पहिले सोतीतिर लम्कियो, पछि भेरीको किनारतिर । जहाँ चारैतिर गाउँलेले घेरा हालेर नवराजका साथीहरूलाई भक्कुमार कुटिरहेका थिए ।

यो घटना र त्यसपछि प्रहरीको रवैयाको बेलिबिस्तार लगाउनुपहिले नवराजको समूह केटीको घर पुग्दा के भएको थियो, त्यसलाई नियाल्नु आवश्यक छ । जसबाट केटीका परिवारको वडाध्यक्षसँगको अनि वडाध्यक्षको प्रहरीसँगको ‘नेक्सस’ र प्रहरी कसरी ‘मिस लिड’ भएको थियो, प्रस्ट हुन्छ ।

घाइते सुदीप खड्काका अनुसार नवराजलाई केटीका आफन्तले चिन्ने भएकाले उनले मास्क र टोपी लगाएका थिए, समूहको पछाडि थिए । अगाडि सुदीपसहित अरू केटाहरू थिए । तर, केटीकी आमाले नवराजलाई देख्दै–नदेखी अपशब्द बोल्न थालिन्, ‘अस्तिको पिटाइले तँलाई पुगेन ? आज मरेरै जान्छस् । वडाध्यक्षलाई फोन लगा…।’ सुदीप भन्छन्, ‘त्यसपछि हामीले त्यस्तो हैन आन्टी, हामी काफल खान आएका हौं भनेर लुरुलुरु हिँडिरह्यौं । केटीको घरअगाडि पाँच सेकेन्ड पनि रोकिएनौं ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *