सरकारद्वारा कोरोना नियन्त्रण खर्च सार्वजनिक

डिसी नेपाल
३१ जेठ २०७७ ७:३४

काठमाडौँ। सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्यमा अहिलेसम्म करिब आठ अर्ब ३९ करोड रुपियाँ खर्चको विवरण सार्वजनिक गरेको छ  ।

कोरोना परीक्षण प्रयोगशाला, आइसोलेसन स्थापना, कोरोना अस्पताल तथा क्वारेन्टाइन निर्माण, औषधि तथा स्वास्थ्य सामग्रीको खरिदमा सो खर्च भएको जनाइएको छ । नेपालमा पहिलो सङ्क्रमण आशङ्कामा सङ्कलन गरिएको स्वाब नमुना परीक्षणका लागि हङ्कङ पठाइएको थियो । गुणस्तरीय र व्यवस्थित प्रयोगशालाको अभाव रहेको अवस्थाबाट तीन महिनाको अवधिमा देशमा २० भन्दा बढी प्रयोगशाला सरकारले स्थापना गरिसकेको छ । भारतलगायत विभिन्न देशबाट आएका एक लाख ५८ हजार ५० जना नेपाली अहिले क्वारेन्टाइनमा रहेका छन् ।

अर्थ मन्त्रालय स्रोतका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत स्वास्थ्य पूर्वाधार निर्माणमा मात्र ९८ करोड ५० हजार रुपियाँ खर्च भएको छ । यस्तै, औषधि र स्वास्थ्य सामग्री खरिदमा एक अर्ब ४९ करोड ७५ लाख ५० हजार, क्वारेन्टाइन व्यवस्थापनमा चार करोड १९ लाख ९८ हजार र अन्य विविध खर्चका रूपमा १३ करोड चार लाख ३१ हजार रुपियाँ खर्च भएको जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा दुई अर्ब ७१ करोड २९ लाख ४७ हजार रुपियाँ निकासा भएकोमा अहिलेसम्म एक अर्ब ५८ करोड ५२ लाख ८३ हजार रुपियाँ खर्च भएको जनाइएको छ ।

त्यस्तै, रक्षा मन्त्रालयमा दुई अर्ब ३८ करोड ५९ लाख २७ हजार निकासा भएकोमा दुई अर्ब ४० करोड २४ लाख ५७ हजार रुपियाँ खर्च भएको मन्त्रालय स्रोतले जनाएको छ । जसमध्ये दुई अर्ब ३६ करोड ९५ लाख २७ हजार रुपियाँ औषधि तथा स्वास्थ्य सामग्री खरिदमा खर्च भएको जनाइएको छ । त्यस्तै, क्वारेन्टाइन निर्माणमा एक करोड २९ लाख रुपियाँ र विविध अन्य ३५ लाख रुपियाँ खर्च भएको छ ।  गाेरखापत्र दैनिक




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *