चीन र अमेरिकाको भ्याक्सिन परीक्षणको अन्तिम चरणमा, जुलाइमा आउन सक्छ खुसीको खबर

डिसी नेपाल
३१ जेठ २०७७ १०:५२

काठमाडौं। चीनको कोरोनाभाइरसविरुद्धको भ्याक्सिनको अन्तिम र निर्णायक परीक्षण ब्राजिलमा हुने भएको छ । चीनको बायोटेक कम्पनी सिनोभ्याकले आफ्नो भ्याक्सिनको फाइनल ट्रायल ब्राजिलका नागरिकमा गर्न लागेको हो । ब्राजिल अमेरिकापछि सबैभन्दा धेरै प्रभावित देश हो । यहाँ अहिलेसम्म ८ लाख २९ हजारभन्दा धेरै कोरोनाभाइरसबाट संक्रमित भइसकेका छन् भने ४१ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।

चीनको सिनोभ्याक कम्पनीले यसअघि चीनमै आफ्नो भ्याक्सिनको परीक्षण गरिसकेको छ । अन्तिम र निर्णायक परीक्षणको लागि उसलाई ठूलो संख्यामा संक्रमित बिरामीहरुको आवश्यकता परेको थियो । तर, चीनमा कोरोनाभाइरस लगभग नियन्त्रणमा आइसकेको र त्यहाँ धेरै बिरामी नभएकोले उनलाई ठूलो संख्यामा परीक्षण गर्न समस्या भएको थियो । अहिले ब्राजिलले उसलाई भ्याक्सिन परीक्षण गर्न अनुमति दिएसँगै उसको समस्या समाधान भएको छ र अब उसले अन्तिम ट्रायल अगाडि बढाउन सक्नेछ ।

समाचार एजेन्सी एपीका अनुसार ब्राजिलको साओ पाउलो सरकारले त्यहाँका ९ हजार जनामा परीक्षणको लागि सिनोभ्याक बायोटेकले पर्याप्त मात्रामा प्रायोगिक भ्याक्सिन पठाउने घोषणा गरेको छ । परीक्षण अर्को महिना सुरु गरिनेछ । साओ पाउलोका राज्यपाल जोआओ डोरियाले भने ‘यदि यो भ्याक्सिनले काम गरेमा हामी यसबाट ब्राजिलका लाखौं जनतालाई सुरक्षित गर्न सफल हुनेछौं ।’

उता, अमेरिकी बायोटेक कम्पनी मोडर्नाले पनि आफ्नो भ्याक्सिनको फाइनल ट्रायल जुलाइमै गर्ने घोषणा गरेको छ । कम्पनी आफ्नो भ्याक्सिनको फाइनल चरणमा पुगेको छ र उसले जुलाइमा ३० हजार जनामा आफ्नो भ्याक्सिनको फाइनल ट्रायल गर्नेछ । अमेरिका कोरोनाभाइरसबाट सबैभन्दा धेरै प्रभावित भएकोले मोडर्नालाई भने ठूलो परीमाणमा परीक्षण गर्न अन्यत्र जानुपर्ने छैन ।

जुलाइमा गरीने परीक्षणमा केहीलाई रियल शट र केहीलाई डमी शट दिइनेछ । त्यसपछि दुई फरक फरक शट दिइएका स्वयंसेवीहरुमध्ये कुन समूहका स्वयंसेवीहरु बढी संक्रमित पाइन्छन् भन्ने कुराको अध्ययन गरिनेछ । म्यासाचुसेट्सको क्याम्ब्रिजस्थित कम्पनीले यो भ्याक्सिनको मुख्य लक्ष्य लक्षणसहितको कोभिड १९ बिरामीहरुलाई रोक्नु भएको जनाएको छ ।

त्यसपछि दोस्रो प्राथमिकता यो महामारीलाई रोक्नु हुनेछ ताकि मानिसहरुलाई अस्पतालबाट टाढा राख्न सकियोस् । मोडर्नाले फाइनल स्टेज परीक्षणको लागि भ्याक्सिनको १०० माइक्रोग्राम डोज तयार गरेको जनाएको छ । यका अलावा कम्पनी हरेक वर्ष लगभग ५० करोड डोज आपूर्ति गर्ने तयारीमा छ । कम्पनीले यी डोज स्विजरल्याण्डको कम्पनी लोन्जासँग मिलेर तयार गर्नेछ ।

विश्वभर कोरोनाभाइरस विरुद्धका १ दर्जन सम्भावित भ्याक्सिन परीक्षणका विभिन्न चरणमा छन् । अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थले भ्याक्सिनहरुको फाइनल टेस्टिङ र ठूलो परिमाणमा भइरहेका अध्ययनहरुमा सहयोग गर्ने अपेक्षा गरेको छ । परीक्षणका क्रममा रहेका सम्भावित भ्याक्सिनमध्ये अक्सफोर्ड विश्वविद्यालयको भ्याक्सिन पनि छ जसलाई निकै विश्वसनीय भ्याक्सिन मानिएको छ ।

भ्याक्सिन रिसर्च सेन्टरका सदस्य डा. जोन मेस्कोलाले नेशनल एकेडेमी अफ मेडिसिनको बैठकमा भनेका छन् ‘यदि सबै कुरा ठिक तरिकाले भयो भने यो वर्षको अन्त्यसम्म कुन भ्याक्सिनले कोरोनाभाइरसविरुद्ध काम गर्छ भन्ने निश्चित हुनेछ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *