भारतीय सेनामा कार्यरत नेपाली काममा फर्किन थाले

डिसी नेपाल
३ असार २०७७ ८:०९

काठमाडौं। लद्दाखमा भारत र चीनबीच तनाव चुलिँदै गएका बेला भारतीय सेनामा कार्यरत नेपाली सुनौली नाका हुँदै भारततर्फ जान थालेका छन् । रुपन्देहीको सीमावर्ती बेलहिया इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले भारतीय सेनामा कार्यरत नेपाली चार–पाँच दिनदेखि भारत गइरहेको बताए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

भारततर्फ जानेको अभिलेख नराखिने भएकाले संख्या यकिन नभएको बताए । ‘दिनमा १२/१५ जना गइरहेका छन्,’ उनले भने, ‘उनीहरु लकडाउन हुनुपूर्व बिदामा घर आएका भारतीय सैनिक हुन् । बिदा सकिएपछि र लकडाउन केही खुकुलो भएपछि उनीहरु फर्किएको हुनुपर्छ ।’

लकडाउनका कारण भारतमा पनि यातायातका साधन सञ्चालन नभएकाले घर आएका भारतीय सैनिक फर्कन पाएका थिएनन् । भारत र चीनबीच तनाव बढेका बेला उनीहरूलाई बोलाएको अनुमान गरिएको छ ।

भारततर्फ जाने ती सैनिकले सुनौलीबाट गन्तव्य स्थलसम्मको यातायातको साधनको प्रबन्ध आफैले गर्ने गरेका छन् । भारत सरकारले केही दिनदेखि सुनौलीबाट विभिन्न स्थानका लागि रोडवेजका बस सञ्चालनमा ल्याएको छ । सुनौलीदेखि करिब १ सय किमि अगाडि गोरखपुरबाट रेल सेवा सञ्चालन गरेको छ । भारतीय सेनामा कार्यरत नेपालीलाई छाड्न र लिन पहिला सुनौली नाकासम्म भारत गोरखपुरको कुडाघाटस्थित गोर्खा रेजिमेन्टको बस आउने जाने गर्थ्यो । अहिले त्यो सेवा उपलब्ध छैन ।

सुनौली नाकामा तैनाथ भारतीय सुरक्षाकर्मीले उता लकडाउन खुकुलो र यातायातका साधन सञ्चालन भएपछि सेना, प्रहरी र भारतीय अन्य सरकारी सस्थामा कार्यरत कर्मचारी सबैलाई परिचयपत्रका आधारमा प्रवेशको अनुमति दिने गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *