बेलायतमा कोरोनाबाट दक्षिण एशियाली मुलका मानिसको मृत्यु दर उच्च

डिसी नेपाल
५ असार २०७७ १७:४७

लण्डन (एजेन्सी) । कोरोना भाइरसका कारण बेलायतमा ज्यान गुमाउनेहरुमा धेरैजसो दक्षिण एशियाली मुलका रहेका छन्। बीबीसीका अनुसार बेलायतमा कोरोना भाइरस सङ्क्रमणका कारण अस्पताल भर्ना हुनेहरूमध्ये दक्षिण एशियाली मूलका मानिसहरूको मृत्यु हुने सम्भावना उच्च रहेको एक महत्वपूर्ण अध्ययनले देखाएको छ।

बेलायतमा अस्पतालमा मृत्यु हुनेहरूको दर चर्को देखिएको यो नै एक मात्र जातीय समुदाय हो। केही हदसम्म त्यसका लागि मधुमेह रोग जिम्मेवार देखिएको अध्ययनको निश्कर्ष छ।

कोभिड १९ भएर अस्पताल भर्ना भएका दशमध्ये चार बिरामीसँग सम्बन्धित तथ्याङ्क विश्लेषण गरिएकोले यो अध्ययन उल्लेखनीय छ।

अनुसन्धानकर्ताहरूका अनुसार यस्तो नतिजा देखिएपछि कार्यस्थलमा लागु गरिने सुरक्षात्मक उपाय र कोरोनाभाइरसविरुद्ध खोप उपलब्ध भएपछि त्यो कसले लगाउनु पर्छ भन्ने विषयको नीतिमा परिवर्तन हुनुपर्छ।

बेलाायतका विश्वविद्यालय तथा सार्वजनिक स्वास्थ्य निकायसहितका विभिन्न २७ वटा संस्था र २६० अस्पताल यो अध्ययनमा सहभागी थिए। एउटा स्वास्थ्यसम्बन्धी जर्नलमा प्रकाशित हुनुअघि उक्त अध्ययनका नतिजालाई इन्टरनेटमा सार्वजनिक गरिएको हो।

तर उक्त अध्ययनको नतिजालाई एक महिनाभन्दा अघि नै बेलायत सरकारको वैज्ञानिक परामर्श समूहलाई हस्तान्तरण गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *