पर्यटन व्यवसाय सञ्चालन कार्यविधि सार्वजनिक

डिसी नेपाल
८ असार २०७७ १७:२७

काठमाडौं । कोभिड–१९ महामारीपछि मुलुकको पर्यटन क्षेत्रलाई कसरी सुरक्षा सतर्कता अपनाएर सेवा सञ्चालन गर्ने भन्नेबारे पर्यटन व्यवसाय सञ्चालन कार्यविधि ‘अपरेशनल गाइडलाइन विथ हेल्थ प्रोटोकल फर टुरिज्म’ बनाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको अगुवाइ तथा निजी क्षेत्रसँगको सहकार्यमा उक्त कार्यविधि तयार पारिएको बोर्डले जनाएको छ ।

पर्यटन व्यवसाय सञ्चालन गर्दा सेवासँगै स्वास्थ्य सुरक्षा सजकता कसरी अपनाउने र नेपालको पर्यटन सेवासँगै सुरक्षाको हिसाबले पनि अगाडि छ भन्ने सन्देश विश्व पर्यटन बजारमा फैलाउन कार्यविधि बनाइएको हो । खासगरी होटल, रेस्टुराँ, पदयात्रा, जलयात्रालगायत गतिविधिमा जाने पर्यटकले के कस्ता सुरक्षा सजकता अपाउनुपर्छ र सेवाप्रदायकले पनि कस्ता मापदण्ड बनाउनुपर्छ भन्ने कुरालाई सञ्चालन कार्यविधिमा समेटिएको छ ।

यस कार्यविधिको ‘जुम एप’भर्चुअल बैठकमा पर्यटनमन्त्री योगेशकुमार भट्टराईले सार्वजनिक गर्दै कोभिडपछिको पर्यटनलाई चलायमान बनाउनुपर्ने अवस्थामा सेवा र सुरक्षालाई मजबुद तुल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले अहिलेको परिस्थितिमा पर्यटन उद्योगलाई गतिशील बनाउन आवश्यक तयारीका साथ अघि बढ्नुपर्नेमा जोड दिए।

पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले कोभिडपछिको पर्यटन व्यवसायलाई सुरक्षित बनाएर सेवा सञ्चालन गर्नका लागि कार्यविधिले सहयोग पुग्ने बताए । उनले नेपालको पर्यटन सुरक्षितसँगै सेवा दिन पनि तयार रहेको सन्देश विश्वभर प्रवाह गर्नका लागि कार्यविधि जारी गरिएको उल्लेख गरे।

बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले कोभिडपछि र सँगसँगै पर्यटन व्यवसायलाई अघि बढाउन कार्यविधि ल्याइएको बताए। उनले अबको दिनमा पर्यटन क्षेत्रलाई चलायमान बनाउन अपनाउनुपर्ने मापदण्ड पर्यटनसँग सम्बन्धित कार्यविधिले समेटेको र यसले पर्यटन व्यवसायलाई सेवा र सुरक्षाको प्रत्याभूति दिलाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

बोर्डका कार्यकारी सदस्य दीपक महतले पर्यटकीय सेवासँगै सुरक्षालाई पनि ध्यान दिएर अघि बढ्नुपर्ने अवस्थामा बोर्डले झण्डै तीन महिनाको अवधिमा सरोकारवालासँग छलफल गरेर कार्यविधि ल्याएको बताए। वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यले संवेदनशील अवस्थामा गुज्रिरहेको पर्यटनलाई गतिशील बनाएर अर्थतन्त्रलाई बलियो बनाएर जानुको विकल्प नभएको धारणा राखे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *