दोब्बर भाडा तिरेर आउँदा पनि सजिलो छैन जन्मभूमिमा टेक्न

डिसी नेपाल
११ असार २०७७ १९:५५

काठमाडौं। कोरोना महामारीले विश्वव्यापी कहर वर्षाउँदा मुलुक बाहिर रहेका नेपालीहरुले थप पीडा भोग्नु परेको छ। विदेशमा नेपालीहरु अलपत्र परेपछि नेपाल सरकारले उनीहरुको उद्धार गर्ने निर्णय गर्यो जुन स्वागतयोग्य थियो।

तर, नेपालमा निर्णय राम्रो हुने कार्यान्वयनमा जाँदा पाइने दुःखको यो परम्परा यसमा किन टुट्थ्यो र ? अहिले विदेशबाट उद्धार गरी जन्म भूमि ल्याइएका वा आएका नेपालीहरुको ट्राभल भोगाई निकै पीडादायी छ।

पहिलो कुरा भाडा दोब्बर तिर्नुपरेको छ। विदेशको एअरपोर्टदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र होल्डिंग सेन्टरसम्म यात्रुले कदम कदममा कोरोनाको संक्रमण हुने जोखिम मोल्नुपर्छ। नेपाली उखान जंगलमा एक बाघ घरमा ७ बाघको जस्तो नियती भोग्नु परेको यसरी उद्धार गरिएकाहरु बताउँछन्।

बुधबार अमेरिकाबाट नेपाल आएका एक नेपालीले यात्रा विवरण डिसी नेपालसँग साझा गरे। उनले डिसी नेपालसँग भने, हामी २४ जूनमा शिकागोबाट इस्तानबुल हुँदै आउने कुरा थियो। अन्तिममा समय परिवर्तन भयो। हामी न्यूयोर्कको जोनएफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्किस एअरलाईन्सको विमानमा नेपालका लागि उडान भर्यौं।

उनले भने जस्तो सजिलै उनी टर्किस एअरलाइन्सको विमानमा चढेका होइनन्। उनले पहिला वाशिंगटनस्थित नेपाली राजदूतावासमा नेपाल फर्किन निवेदन दिए, कोरोनाको पीसीआर परीक्षण गरे र झण्डै दोब्बर १५३७ डलर भाडा तिरेर टिकट काटे। टिकट वितरणका लागि दूतावासले सूचीकरण गरेको ट्राभल्सबाट टिकट काटिएको उनले डिसी नेपाललाई जानकारी दिए। तयसपछि पाँच घण्टाको यात्रापछि उनी टर्किको इस्तानबुल पुगे।

इस्तान्बुलबाट काठामाडौंका लागि जहाज उड्यो। जहाजमा सामाजिक दुरीको नियम पालना नभएको उनले डिसी नेपाललाई बताए। यति लामो यात्रामाा खानेपानीकोसमेत राम्रो व्यवस्था नभएको उनले गुनासो गरे। सरकारले नै व्यवस्था गरेको विमान भएकाले खाना, पानी र सामाजिक दूरीको विषयमा नेपाल सरकार जवाफदेही हुनुपर्ने उनको जिकिर छ। विमानमा रहेका २८० जना मध्ये केही वृद्धवृद्धालाई निकै समस्या भएको उनले बताए।

जसोतसो विमान काठमाडौंको आकाशमाथि आइपुग्दा खुसी भएका उनी विमान रनवेमा रोकिएपछिको दृश्यले अत्तालिए। रेनवेसम्म पुगेको बसमा कोच्चिएर आगमन कक्षसम्म आउनु पर्यो। त्यसपछि शुरु भयो सोधपुछ, र सामान्य जाँच। विमानमा चढन्अघि दूतावासमा भरिएको फर्म जस्तै फेरि विमानस्थलमा भर्नुपर्यो।
बुधबार दिउँसो साढे २ बजे ल्याण्ड गरेको विमानका यात्रुहरु साँझ ७ बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रहेको उनले जानकारी दिए। विमानस्थलको अवस्थाको त कुरै नगरौं। उनले डिसी नेपालसँग भने, शौचालयमा पानीसमेत त थिएन अरु के कुरा गर्ने?

साँझ ७ बजेपछि सेनाको गाडीमाफर्त बसुन्धरास्थित होल्डिंग सेन्टरमा उनीहरुलाई लगियो। होल्डिंग सेन्टर पनि कोरोना संक्रमण फैलिने जोखिमबाट मुक्त नभएको उनले सुनाए। उनले भने, यहाँ सामाजिक दूरीको कुरा पनि छैन। मानिसहरु कोचाकोच लाइन लाग्नुपर्ने अवस्था छ। हात धुन धाराको व्यवस्था त छ तर धारामा पानी निकै कम आउँछ। साबुन पनि पखालिँदैन।

त्यसपछि फेरि होल्डिंग सेन्टरमा पनि सोधपुछ र फर्म भराईन्छ। उनले डिसी नेपालसँग भने, हामीले एउटै किसिमको फर्म, दूतावास, विमानस्थल र होल्डिंग सेन्टरमा भर्नुपर्यो। यति गर्दा रातीको १० बज्यो।

काठमाडौंमै घर भएका उनी राती १० बजेपछि ट्याक्सीमाफर्त सिनामंगलस्थित आफ्नो घरमा आएर होम क्वारेन्टिन बसिरहेका छन्। होम क्वारेन्टिन बस्न उनीसँग पीसीआर परीक्षण प्रतिवेदन भएकाले बस्न पाएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *