भारतीय सेनाको टूटू रेजिमेन्टः गोर्खाली हुन्छन्, सिधै प्रधानमन्त्रीलाई रिपोर्ट गर्छन्, तर…

डिसी नेपाल
१२ असार २०७७ १३:२२

काठमाडौं। भारतीय सेनाले खासगरी चीनसँग लड्नको लागि एउटा खास रेजिमेन्ट बनाएको छ । यो रेजिमेन्टलाई टूटू रेजिमेन्ट भनिन्छ । यो रेजिमेन्टमा अहिले गोर्खालीहरु अर्थात नेपाली युवाहरु पनि हुन्छन् । उनीहरु खासगरी चीनविरुद्ध लड्छन् । भारतका लागि ज्यान पनि दिन्छन् । तर, शहीदको रुपमा सम्मान पाउनु उनीहरुको भाग्यमा हुँदैन । उनीहरु गुमनाम मृत्युवरण गर्न बाध्य हुन्छन् । यति हुँदाहुँदै पनि यो रेजिमेन्ट भारतको लागि भने निकै महत्वपूर्ण छ ।

भारतीय अखबार दैनिक भास्करमा राहुल कोटियालले यो रेजिमेन्टको बारेमा लेखेका छन् । रिपोर्टमा उल्लेख भएअनुसार टूटू रेजिमेन्ट भारतीय सेनाको महत्वपूर्ण हिस्सा हो तर यसबारे निकै कम जानकारी सार्वजनिक गरिन्छ । यो रेजिमेन्टले अहिले पनि निकै गोपनीय तरिकाले आफ्नो काम गर्छ । यो रेजिमेन्ट अस्तित्वमा भएको कुनै प्रमाण पनि सार्वजनिक गरिएको छैन ।

टूटू रेजिमेन्टको स्थापना १९६२ मा भएको थियो । त्यतिबेला भारत र चीनबीच युद्ध चलिरहेको थियो । तत्कालीन इन्टेलिजेन्स ब्यूरोका प्रमुख भोला नाथ मलिकको सुझावमा तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुले यो रेजिमेन्टको स्थापना गरेका थिए ।

यो रेजिमेन्ट स्थापना गर्नुको उद्देश्य चीनको सीमामा घुसेर लद्दाखको कठिन भौगोलिक स्थितिमा लड्न सक्ने लडाकूहरु तयार गर्नु थियो । यसका लागि त्यतिबेला तिब्बतबाट शरणार्थीको रुपमा भारत आएका युवाहरुलाई रोजियो किनकि उनीहरु त्यहाँको क्षेत्रसँग परिचित र अभ्यस्त थिए ।

यही कारण तिब्बती युवाहरुलाई भर्ती गरेर एक फौज तयार गरियो । भारतीय सेनाका रिटायर्ड मेजर जनरल सुजान सिंहलाई यो रेजिमेन्टको पहिलो आइजी नियुक्त गरियो । सुजान सिंहले दोस्रो विश्वयुद्धमा २२ औं माउन्टेन रेजिमेन्टको नेतृत्व गरिसकेका थिए । त्यसैले नयाँ बनेको रेजिमेन्टलाई इस्टाब्लिसमेन्ट २२ वा टूटू रेजिमेन्ट भन्न थालियो ।

तत्कालीन समयमा यो रेजिमेन्ट बनाइएको भए पनि उनहिरुले काम सुरु गर्न नपाउँदै चीनले युद्धविराम गरेपछि उनीहरुलाई भर्ती गर्नुको उद्देश्य अधुरै रह्यो । तर, भारतीय सेनाले यो रेजिमेन्ट कायमै राख्यो । भारतले भविष्यमा पनि चीनसँग युद्ध भएमा यो रेजिमेन्ट सबैभन्दा प्रभावकारी हुने भन्दै यसलाई कायमै राखेको थियो । टूटू रेजिमेन्टका जवानलाई खासगरी गुरिल्ला युद्धको लागि प्रशिक्षित गरिन्छ । उनीहरुलाई रक क्लाइम्बिङ र प्यारा जम्पिङको विशेष प्रशिक्षण तथा कठिन परिस्थितिमा जीवित रहने कला सिकाइन्छ ।

यो रेजिमेन्टलाई १९७१ मा बंगलादेशसँग युद्ध हुँदा अपरेशन इगलमा सहभागी गराइएको थियो । यो युद्धमा रेजिमेन्टका ४६ जना जवानले ज्यान गुमाएका थिए । १९८४ को अपरेशन ब्लुस्टार, अपरेशन मेघदूत र १९९९ मा कारगिल युद्धका क्रममा अपरेशन विजयमा पनि यो रेजिमेन्टलाई सहभागी गराइएको थियो ।

यो रेजिमेन्टका जवानले भारतको लागि ज्यान नै दिए पनि उनीहरुले मृत्युपछि पनि सार्वजनिक सम्मान पाउँदैनन् । यो रेजिमेन्टले सधैं गोपनीय तरिकाले काम गर्ने र यसको अस्तित्व सार्वजनिक नगरिएकोले उनहिरुलाई सार्वजनिक रुपमा सम्मान पनि दिइँदैन । यही कारण बंगलादेशसँगको युद्धमा ज्यान गुमाएका ४६ जवानले न कुनै मेडल पाए न शहीदको रुपमा पहिचान पाए ।

यी जवानले पछिल्लो समय भारतीय सेनाका अन्य जवानले जत्तिकै पारिश्रमिक पाउन थालेका छन् । दिल्ली हाइकोर्टले केही वर्ष पहिले भनेको थियो ‘यी जवान न भारतीय सेनाका हिस्सा हुन् न भारतीय नागरिक । तर, यसका बावजुद यिनीहरु भारतको सीमाको रक्षाका लागि हाम्रा जवानसँग काँधमा काँध मिलाएर उभिएका छन् ।’

आधिकारिक रुपमा यो रेजिमेन्ट भारतीय सेनाको हिस्सा होइन । यद्यपि यसको नेतृत्व कुनै न कुनै सेनाको अधिकारीको हातमा हुन्छ । यो रेजिमेन्टले सेनालाई नभइ रअ र क्याबिनेट सचिवमार्फत सिधै प्रधानमन्त्रीलाई रिपोर्टिङ गर्छ । सुरुवातमा यो रेजिमेन्टमा तिब्बती मूलका जवान मात्र हुन्थे । अहिले भने यसमा गोर्खाली अर्थात नेपाली पनि भर्ती हुन्छन् । यो रेजिमेन्टको भर्ती पनि सार्वजनिक रुपमा हुँदैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *