टर्किश एयरबाट अमेरिका फर्किंदाको कर्कश लाग्दो यात्रा (भिडियो यात्रा)

डिसी नेपाल
१३ असार २०७७ १३:५९
16
Shares

न्यूयोर्क। करिब चार महिना नेपाल बसाइपछि म जून २४ मा टर्किश एयरलाइन्सको चार्टर फ्लाईटबाट १ हजार ६०० को टिकट काटेर (काठमाण्डू–इस्तानबुल–न्युयोर्क) म अमेरिका फर्केको छु । करिब ३ हजार डलरबाट सुरु भएको चार्टर फ्लाइटको टिकट पछिल्लो समयमा १ हजार ५०० सम्म झरेको थियो । नियमित उडानको टुङ्गो नभएपछि महंगै भए पनि अरु यात्रुहरु जस्तै म पनि बाध्य भएर चार्टर फ्लाईमा आएको हुँ । सामान्यतया काठमाण्डू एयरपोर्टबाट बोर्डिङ् पास लिएपछि बस चढेर जहाज तिर लगिन्थ्यो तर यसपटक बोर्डिङ् गेटदेखि जहाज सम्मको छोटो दुरी हिँडेरै प्लेनतिर अगाडि बढ्यौं ४ः४५ तिर।

लेन भित्र कुनै सोसियल डिस्टेन्सिङ थिएन । सिट छाडेर यात्रु राखिने भन्ने सुनिए पनि हरेक सिटमा यात्रुहरु थिए । कोरोनाको महामारीको क्रममा जहाजले सफा सुग्घरमा बिशेष ध्यान दिएको सुनिएको थियो तर मेरै सिट अगाडी टिभीको मुनिको भागमा पहिलेको यात्रीहरुले प्रयोग गरेको टिस्युहरु थियो । मैले एयर होस्टेसलाई देखाएपछि एकछिन पछि आएर निकालेर गइन् । सिट वरपर, ट्रेहरुमा पनि फोहर दाग देखिन्थ्यो ।

काठमाण्डूबाट दिउँसो ४ बजे उड्ने भनेको प्लेन करिब ५ः२० मा उडेको थियो ।

जहाजमा निकै भीड थियो । कसैको डिभी परेर भिसा सकिनै लागेको थियो भने कसैको कामको छुट्टी, कसैको नगइ नहुने बिभिन्न समस्याका यात्रुहरु थिए । जहाज न्यूयोर्क जाने भए पनि जहाज भित्रका यात्रुहरु क्यालिफोर्निया, टेनेसी, न्यु ह्यामसायर, मेरील्याण्ड, भर्जिनिया, रोचेस्टर, बोस्टन आदि ठाउँहरुमा पुग्नु पर्ने थियो।

सामन्यतया काठमाण्डूदेखि दोहा होस् वा इस्तानबुल उक्त समयमा यात्रुहरुलाई पेय पदार्थ, स्न्याक्स र खाना उपलब्ध गराइन्छ तर टर्किश एयरलाइन्सले कोरोनाको बहानामा पेय पदार्थ त परैको कुरा बिरामी बुढी आमाले तातो पानी माग्दा पनि तँसँग भाँडो छ भने दे म ल्याउँछु, हामीसँग कप छैन भनेर एयर होस्टेसले भनिन् ।

अनि खाना स्वरुप खैरो कागजको ब्यागमा लामो पाउरोटीमा नुनिलो सेतो चिज र गोलभेडा हालेको स्यान्डविच, जुसको प्याकेट र सानो गुलियो पाउरोटी ल्याएर दिए । भोक लागेको बेलामा त खाइयो र लाग्यो यो स्न्याक्स होला, एक छिनमा तातो खाना ल्याउला भन्ने आशा गरियो तर उस्तै स्यान्डविच ल्याएर ‘खाए खा नखाए घिच’ भने जसरी ल्याएर राखिदियो । मेरै अगाडी एक बाको त खाली लामो सादा पाउरोटी मात्रै थियो । त्यो पनि बल्ल बल्ल खाइयो । चाउचाउ, दालमोठ र बिस्कुट बोकेका साथीहरुले भने आफुसँग भएको खानेकुरा बाँडेर खाएको पनि देखियो ।

त्यसपछि हामी इस्तानबुलमा ओर्लियौं । सुरुमा टिकट किन्दा एजेन्टले ३ घन्टाको ट्रान्जिट भनेकोमा एयरपोर्टमा ओर्लदा करिब ७–८ घन्टाको ट्रान्जिट रहेछ ।

इस्तानबुलमा कफी खाएर बिहान ६ बजे हामी न्यूयोर्कको लागि जहाज चढ्यौं । काठमाण्डूबाट चढेको जहाज र यो जहाजमा खासै केही फरक पाइएन । उस्तै फोहर, उस्तै खाना र उस्तै ब्यबहार । यसमा पनि हामीले आफुसँग भएको चाउचाउ, बिस्कुट, दालमोठ, चकलेट बाँडेर खायौं ।

चार्टर फ्लाइटमा महंगो भाडा तिरेर आउँदा तल्लो स्तरको सेबा दिएको देख्दा हामी सबै यात्रुहरु दुखी थियौं भोको थियौ कष्टकर यात्रा भए पनि न्यूयोर्क ओर्लन पाउँदा भने हामी धेरै खुशी थियौ । कोरोनाको बहानामा चार्टर फ्लाइटमा चर्को भाडा लिएर दुख अप्ठ्यारोमा परेकालाई टर्किश एयरलाइन्सले कर्कश लाग्दो सेवा दियो । सम्बन्धित निकायलाई टर्किश एयनलाइन्स सम्म यो कुरा पुर्याउन र चार्टर फ्लाईटको नाममा लुट्ने काम बन्द गर्न म बिनम्र अनुरोध गर्दछु ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *