दुई पटकसम्म अस्पतालले परिवारलाई दियो अशुभ खबर, ९५ दिनपछि निको भएर फर्किए

डिसी नेपाल
१३ असार २०७७ १४:५८

काठमाडौं। कोरोनाभाइरस संक्रमित एक बिरामीको परिवारलाई अस्पतालको तर्फबाट २ पटकसम्म उनको मृत्यु हुँदैछ भनेर खबर दिइयो । तर, ९५ दिनसम्म अस्पतालमा रहेपछि उनी अन्ततः निको भएर घर फर्किएका छन् । यो घटना बेलायतको हो । तीन महिनाभन्दा धेरै समय अस्पतालमा बिताएपछि अन्ततः ३ सन्तानका पिता किथ वाटसन २५ जूनमा घर फर्किए । लामो समयसम्म उपचाररत रहेका कारण उनको तौल भने निकै घटेको छ ।

डेलीमेलको रिपोर्टअनुसार किथ बेलायतमा कोरोनाभाइरसका कारण सबैभन्दा लामो समयसम्म बिरामी रहने व्यक्ति बनेका छन् । यसअघि बेलायतमै स्टिभ ह्वाइट ९२ दिनमा ठिक भएका थिए । ५२ वर्षका वाटसन संक्रमणपछि कोमामा गएका थिए । उनलाई एक महिनाभन्दा धेरै समय भेन्टिलेटरमा राखियो । करिब ४१ दिन उनले आइसीयूमा बिताएका थिए । जब उनको मृगौला र फोक्सोले काम गर्न बन्द गरे, त्यसपछि उनको परिवारलाई उनको मृत्यु नजिकै भएको जानकारी दिइएको थियो ।

किथ वाटसनले भने ‘मलाई विश्वास भइरहेको छैन कि म जीवित छु । म ती व्यक्तिहरुको बारेमा सोच्छु जसले यस्तो गर्न सकेनन् ।’ वाटसन दमबाट पनि पीडित छन् । उनी समस्या भएपछि २० मार्चमा अस्पताल गएका थिए । त्यसबेलादेखि उनी अस्पतालमै थिए । बेलायतमा भेन्टिलेटरमा राखिएका बिरामीमध्ये २ तिहाइ बिरामीको मृत्यु भएको छ । जतिबेला किथ अस्पतालमा भर्ना भएका थिए त्यतिबेला बेलायतमा कोरोनाका मारण १४४ जनाको मात्र मृत्यु भएको थियो तर जब उनी अस्पतालबाट बाहिर निस्के त्यतिबेलासम्म त्यहाँ कोरोनाका कारण ४३ हजार जनाको ज्यान गइसकेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *