दोब्बर अग्लो आकाशिँदै गएको धरहरा कहाँसम्म अग्लियो? [फोटो/भिडियो]

मदन कोइराला
१४ असार २०७७ १६:४७

काठमाडौं। पहिलोपटक झण्डै २ शताब्दीअघि निर्माण भएको ११ तल्ले धरहराले दुईवटा ठूला भूकम्प झेल्यो। बि.सं. १८८२ मा पहिलोपटक निर्माण हुँदा ११ तल्लाको धरहराले पहिलो धक्का १०८ वर्षपछि १९९० मा सह्यो।

यो भूकम्पले धरहराका माथिल्ला २ तल्ला ध्वस्त पारिदियो, धरहरा ९ तल्लामा सीमित रह्यो। २०७२ सालमा आइपुग्दा यसले फेरि अर्को शक्तिशाली भूकम्पको धक्का सहनुपर्यो, जसले धरहरालाई पूरै ढलाइदियो। २ शताब्दीको इतिहास बोकेको भीमसेन स्तम्भको नामले समेत चिनिने धरहराको उचाइ भूकम्पले ढलाइदिएपछि सरकारले यसको पुनर्निर्माण थाल्यो।

सरकारले यो इतिहाको उचाइ दोब्बर बनाउने निर्णय गर्यो। सुरुमा ११ तलाको धरहरा २२ तल्लाको बन्ने भयो। पुनर्निर्माणको काम चौबीसै घण्टा चलिरहेको थियो तर अचानक कोरोनाभाइरसको महामारी आयो। देश लकडाउन भयो, काम रोकियो। २४ घण्टा चलिरहेको काम दिउँसोमा मात्र सीमित भयो, लगातार काम गरिरहेका ३ सय कामदारले ३५ मा झरे।

यससँगै धरहराको पुनर्निमाणको क्रममा एक्कासी ब्रेक लाग्यो। ‘धरहराको निर्माण नै रोकिएको होइन तर कामदारको संख्या कम भएपनि काममा त्यसको असर देखियो,’ धरहरा निर्माण कम्पनीका प्रोटेक्ट म्यानेजर श्यामचन्द्र श्रेष्ठले डिसी नेपालसँग भने, ‘अहिले दैनिक ३५ जना कामदारले काम गरिरहेका छन्।’

निर्माणको लागि जम्मा रु तीन अर्ब ४८ करोड लाग्ने जनाइएको छ। पहिलाको धरहराभन्दा नयाँ बन्ने धरहराको चौडाइ ठूलो हुनेछ। जहाँ दुईवटा लिफ्ट पनि हुनेछन्। एउटा परम्परागत भर्याङ रहनेछ। लिफ्ट र भर्याङ दुईवटै माध्यमबाट धरहरा चढ्न सकिनेछ। निर्माणाधीन धरहरा अत्याधुनिक र सुविधासम्पन्न हुनेछ। ४२ रोपनी क्षेत्रफलमा निर्माण शुरु गरिएको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए तापनि भित्र भने २२ तलाको र उचाइ ७२ मिटर र ४८ फिटको बेस रहनेछ।

नयाँ धरहरामा बगैँचा, संग्रहालय, रंगीन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत रहनेछन्। ११ तले धरहरा विसं १९९० को भूकम्पका कारण क्षतिग्रस्त भएपछि नौ तलामा सीमित भएको थियो। सो ऐतिहासिक धरहरा सन् १८३२ मा भीमसेन थापाले निर्माण गरेका थिए।

धरहरा परिसरमा पार्किङसहित रेष्टुराँ, बगैँचा, पुस्तकालय लगायत सुविधा हुनेछन्। गोश्वारा हुलाक भएको स्थानमा उद्यान बनाइनेछ। उद्यानभित्र बस्ने ठाउँ, ढुंगेधारा, हरियाली, चमेना गृह हुनेछ। धरहरामा पढ्न चाहने, ध्यान गर्न चाहने या बस्न चाहने सबैका लागि सुविधा उपलब्ध हुनेछ। निर्माण हुने धरहरा बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ता सवारी साधनको व्यवस्थित पार्किङ गर्न सकिने गरी पुनर्निर्माण हुनेछ।

पुरातात्विक हिसाबले महत्व बोकेको काठमाडौंलाई सुरक्षित र आकर्षित बनाउन ऐतिहासिक सम्पदाको पुनर्निर्माण अत्यावश्यक भएको काठमाडौं महानगरपालिकाले जनाएको छ। धरहराको १८औँ तलामा अवलोकन कक्ष हुनुका साथै धरहरा परिसरमा म्युजियम, वाटर फाउन्टेन, बगैँचा, रेष्टुरेन्टको साथै अत्याधुनिक पार्किङको व्यवस्था गरिनेछ। यहाँ ३५० गाडी र ६ हजार मोटरसाइकल पार्किङ गर्न मिल्ने बताइएको छ।

फाेटाे/भिडियाेः कमल साउद




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *