चौरजहारीमा पिसिआर मेसिन जडान शुरु

डिसी नेपाल
१५ असार २०७७ १९:४१

रूकुम । रुकुम (पश्चिम)को चौरजहारी नगरपालिकाले कोभिड–१९ भए नभएको पत्ता लगाउने आरटी पिसिआर मेसिन खरीद गरेको छ । नगरपालिकामै कोरोना परीक्षणका लागि नगरपालिकाले पिसिआर मेसिन खरीद गरेको हो ।

क्वारेन्टाइनमा बसेकाहरुको स्वाब संकलन गरेर सुर्खेत, जुम्ला तथा दाङलगायत ठाउँमा पठाउँदा रिपोर्ट आउन धेरै दिन लाग्ने भएपछि नगरपालिकाले जिल्लामै कोरोना भाइरसको परीक्षणका लागि मेसिन खरिद गरिएको जनाएको छ । पिसिआर मेसिनसहित कोरोना परीक्षण ल्याब स्थापनाका लागि आवश्यक पर्ने सम्पूर्ण सामान नगरपालिकामा पुगिसकेका छन् ।

आजदेखि सामग्री जडानको काम शुरु भइसकेको नगर प्रमुख विशाल शर्माले जानकारी दिए। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट आएको बायोम्याट्रिक इञ्जिनीयर, चिकित्सक र प्रयोगशालाका कर्मचारीले मेसिन जडान गरिरहेको उनको भनाइ छ ।

नगरपालिकाले नगरमै रहेका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई प्रयोगशालामा खटाउने तयारी गरेको छ । प्रदेशबाट आएको टोलीबाट तालीम गराउने तथा नगरपालिकामा रहेका तथा अन्य स्थानीय तहसँग ल्याब टेक्निसियनलगायत स्वास्थ्यकर्मीको माग गर्ने र उनीहरुलाई नै प्रयोगशालामा खटाइने नगर प्रमुख शर्माले बताए।

मेसिन र अन्य सामग्री जडान गरी ल्याब सञ्चालनमा आएपछि रुकुम (पश्चिम) सहित सल्यान, जाजरकोट र डोल्पा जिल्लासम्मका स्वाब परीक्षणमा सहजता आउने विश्वास गरिएको छ । जिल्ला आयुर्वेदिक अस्पतालको भवनमा स्थापना भइरहेको प्रयोगशालामा दैनिक ९६ स्वाब जाँच गर्न सकिने नगरपालिकाले जनाएको छ । पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्माको पहलमा पिसिआर मेसिन रुकुम (पश्चिम)मा आएको नगर प्रमुख शर्माको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *