प्रधानमन्त्री ओलीले भारतले हटाउन लाग्यो भन्नुको अर्थ के हो?

खेमराज थापा
१५ असार २०७७ २०:३२

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली र बोलीका कारण उनीमाथि आफ्नै पार्टी नेकपा भित्रबाट दबाब बढिहरेको अवस्था छ। सडकमा पनि उनलाई हटाउने गरी होइन सुधारिउन भन्ने आशाका साथ प्रदर्शनसमेत भए।

पार्टीको स्थायी कमिटि बैठक चलिरहेकै बेला बिचमैमा मदन भण्डारीको जन्मजयन्तीका अवसरमा मदन भण्डारी प्रतिष्ठानले आइतबार बालुवाटारमा आयोजना गरेको कार्यक्रममा दिएको अभिव्यक्तिले नेपालमा मात्र होइन भारतमासमेत तरंग आएको छ।

आफ्नै दल भित्र कमजोर बन्दै गएको र सडकमा समेत विरोध हुन थालेपछिको उत्पन्न परिस्थितिबाट जोगिन सहयोग पुग्ने गरी प्रधानमन्त्री ओलीले आइतबार आफूलाई प्रधानमन्त्रीबाट हटाउन भारत र नेपालका केही नेताहरु सक्रिय रहेको बताए। उनको यो भनाईसँगै नेपाल उनले आफ्नो सत्ता टिकाउन राष्ट्रवादी कार्ड खेलेको भन्ने विश्लेषण भइरहेको छ भने भारतमा प्रधानमन्त्री ओलीको अभिव्यक्तिले भारत–नेपाल सम्बन्ध विगारेको टिप्पणी भएको छ।

प्रधानमन्त्री ओलीको भनाईसँग उनकै दल नेकपाका सांसद तथा पार्टी केन्द्रीय सदस्य विरोध खतिवडा पनि सहमत देखिएनन्। उनले डिसी नेपालसँग भने, ‘प्रधानमन्त्रीबाट कसैले कसलाई हटाउन सक्दैन। जिम्मेवारीबाट फिर्ता बोलाउने भन्ने विधि हुन्छ। त्यसैअनुसार हुन्छ। उहाँभन्दा अगाडि मनमोहन अधिकारी, माधव नेपाल, झलनाथ खनाल, माओवादीबाट प्रचण्ड, फेरि उहाँ प्रधानमन्त्री बन्नु भयो। यी सबैलाई कसैले हटाएको हो?’ उनले पार्टीले दिएको जिम्मेवारी पूरा गर्नुपर्ने बताए।
प्रधानमन्त्री ओलीले भने जस्तो जिम्मेवारीबाट हट्ने वित्तिकै कसैले हटाएको भन्ने हो भने यसअघिकालाई पनि हटाएको मान्नुपर्ने खतिवडाले तर्क गरे।

खतिवडाको तर्कमा राजनीतिक विश्लेषक पुरञ्जन आचार्य पनि सहमत देखिन्छन्। उनले डिसी नेपालसँग भने, ‘उहाँको अभिव्यक्ति कुटनीतिक पनि होइन, सांस्कृतिक पनि होइन, बोल्न नहुने कुरा बोल्नु भएको हो।’

प्रधानमन्त्री ओलीले आइतबार आफूलाई हटाउन दूतावास र होटलमा छलफल भएको र भारतीय सञ्चार माध्यमहरुमा पनि त्यस्तै समाचारहरु आएको बताएका थिए। यदि काठमाडौंस्थित भारतीय दूतावास प्रधानमन्त्री ओलीको सरकार ढाल्ने गरी सक्रिय भएको भेटिए प्रधानमन्त्री ओलीले भारतीय राजदूतलाई फिर्तासमेत पठाउन सक्ने विश्लेषक आचार्यले बताए। उनले भने, ‘यदि त्यसरी राजदूत सक्रिय भएको भए उनलाई बोलाएर कुरा गर्न सकिन्छ, प्रमाण भए फिर्ता पठाउन सकिन्छ। यसरी बोल्दै हिँड्नु भनेको उहाँ आफै कमजोर भएको, अल्पमतमा परेको देखिन्छ।’

त्यसो त आफू अल्पमतमा परेपछि भारतले सरकार ढाल्ने प्रयासमा लागेको दोषारोपण गर्ने प्रधानमन्त्री ओली पहिलो प्रधानमन्त्री होइनन्। यसअघि नेकपा अध्यक्ष तथा तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो पटक प्रधानमन्त्रीबाट राजीनामा दिएपछि दोष भारतमाथि थोपारेका थिए। उनीपछि प्रधानमन्त्री बनेका तत्कालीन नेकपा नेता माधवकुमार नेपाललाई भारतीय कठपुतलीसमेत भनेका थिए।

प्रधानमन्त्री ओलीको आइतबारको अभिव्यक्तिपछि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यो विषयमा नेकपाको जारी स्थायी कमिटि बैठकले स्पष्ट पार्नुपर्ने बताएका छन्। उनले सामाजिक सञ्जाल ट्वीटरमा प्रतिक्रिया दिँदै भनेका छन्, ‘पारित नक्सा न प्रमले दिएको ब्यक्तिगत अटोग्राफ हो, न उहाँको शासकीय अयोग्यता ढाक्ने पछ्यौरी, सिंगो देश एकढिक्का उभिएर संसदबाट सर्वसम्मत पारित नक्साको जग्गा फिर्ता गराउने कुटनैतिक पहलको (च्याप्टर क्लोज) गरेर त्यसलाई सत्ता रक्षाको कवच बनाउन खोज्ने प्रवृत्ति न राजनैतिक छ न कुटनैतिक।’

उनले नेकपाले यो विषयमा स्पष्ट पानुपर्ने भन्दै केही प्रश्नसमेत गरेका छन्। शर्माको प्रश्न छ, ‘भारतले हटाउन खोज्दैछ, प्रधानमन्त्रीले नै भनेपछि नेकपाले देशलाई प्रस्ट्याउन जरुरी छ। १, प्रधानमन्त्री बनाउन र हटाउन नेकपासंग संसदमा रहेको बहुमतको संवैधानिक सार्वभौमिकता नेकपासंग छ कि छैन? २, छ भने त्यसको प्रयोग गर्ने या नगर्ने जिम्मेवार विवेक उपर नेकपाको स्वतन्त्र हक के सुरक्षीत छैन?’

एकजना ट्वीटर प्रयोगकर्ता आफूलाई कुल रिम्सका नामबाट चिनाउने व्यक्तिले मंगलबार बस्ने नेकपा स्थायी कमिटि बैठकमा प्रधानमन्त्री ओलीले भारतीय दलालबारे स्पष्ट पार्नुपर्ने बताएका छन्। उनले लेखेका छन्, ‘प्रधान मन्त्री ज्यु, हिम्मत भए भोली बस्ने स्थायी कमिटी बैठकमा आफ्नो पार्टी का भारतीय दलाल को को हुन भनेर औंला तेर्स्याए देखाउदै भन्नुस र कारवाही गर्नुस अन्यथा पद जोगाउने वाहानामा पार्टी पङ्क्तिका नेता को झुटो आलोचना स्विकार्य छैन।’
त्यसो त भारतमा यो विषयले निकै तरंग स्थापना गरेको छ। भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले सोमबारको अंकमा सम्पादकीय नै लेखेर प्रधानमन्त्री ओलीले भारतसँगको सम्बन्ध खराब गरेको उल्लेख गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *