ओलीलाई प्रदीप गिरीको अनुरोध : अरु जस्तो अपमानित नभएरै प्रधानमन्त्री पद छोड्नुहोस

डिसी नेपाल
१५ असार २०७७ २१:३०

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो पद छोड्न अनुरोध गरेका छन्। डिसी नेपालसँग कुरा गर्दै उनले प्रधानमन्त्रीलाई आफ्नो साथी भएर साथीको नाताले पद छोड्न आग्रह गरेको बताए।

नेता गिरीले आफूले सांसदको तर्फबाट प्रधानमन्त्रीलाई पद छोड्न अनुरोध नगरेको स्पष्ट पारे । उनले भने, ‘म उहाँको असल मित्र हुँ, म सांसद भएकाले भनिरहेको छैन, असल मित्र भएकोले भनिरहेको छु, अब प्रधानमन्त्रीले छोड्नु पर्दछ ।’ तत्कालीन काँग्रेस सभापति तथा प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले समयमा पद नछोड्दा अपमानित भएर राजीनामा दिनुपरेको प्रसंगसमेत उनले स्मरण गरे।

अहिलेको शताब्दीमा राष्ट्रियताको विषयले विश्वमै चिन्तनीय स्वरुप ग्रहण गरेको गिरिले जिकिर गरे। उनले भने, ‘उखानका वादशाह केपी ओलीबाट राष्ट्रियताको कुरा आइरहेको भए पनि नेपालको भौगोलिक चौहद्दी बनेदेखि नै गम्भीर विषय छ ।

एक्काइसौं शताब्दीमा राष्ट्रियताको विषयले विश्वमै चिन्तनीय स्वरुप ग्रहण गरेको छ।’ प्रधानमन्त्री ओलीको ध्वनी राष्ट्रवादी नभएर अधिनायकवादी भएको गिरिको भनाई छ। उनले भने, ‘अहिले अमेरिकाका ट्रम्पको विचारधारा, भारतका प्रधानमन्त्री मोदी र हाम्रा प्रधानमन्त्री ओलीको विचारधारा के हो ? ओलीले भन्न त जनवाद, समाजवादको कुरा गर्नु हुन्छ। तर कता कता आफ्नो प्रधानमज्त्रीको औचित्य नै उहाँले बुझेको राष्टवाद देखिन्छ।

उहाँले हिजो आज वक्तव्य दिनु भएको छ, म राष्ट्रवादी भएकोले, मैले राष्ट्रियताको सम्बर्धन गरेकोले छिमेकी देशको नाम लिएर एउटा मूलुक विशेषले मलाई हटाउन खोज्दैछ भन्नु भएको छ । के देखिन्छ भने उहाँ आफ्नो आन्तरिक झगडाको कारणले उहाँले स्थायी समितिमा बहुमत उहाँको छैन सबैलाई थाहा छ । आन्तरिक चलखेलका कारणले उहाँले सत्ता छोड्नु पर्यो भने पनि राष्ट्र त धारासायी हुन्छ । म मात्र गर्न सक्छु भन्ने छ । कुनै जमानामा फ्रान्सका लुईले आईम द स्टेट भन्दथे । ओली त्यही ध्वनीमा बोल्दै हुनुहुन्छ । कुनै राष्ट्रवादको ध्वनीमा होइन । यो उहाँको अधिनायकवादी ध्वनी हो।’

‘नेकपाले आफ्नो पार्टी भित्र छलफल गरेर प्रधानमज्त्रीलाई अपदस्त गर्दछ भने त्यसको सम्बन्ध राष्ट्रियतासंग हुँदैन।’ गिरिले भने, ‘मलाई हटाए भने राष्ट्रियता जान्छ भनेर हुन्छ? त्यसो भएत ओली भन्दा ज्यादा ज्ञानेन्द्र शाह कुर्लीए भैहाल्यो नि।’ गिरिले प्रधामन्त्रीलाई काम गर्न गाह्रो भएको जिकिर गरे। उनले भने, ‘प्रधानमन्त्रीलाई उहाँको पार्टीको पूर्ण बहुमत भएपनि, पूर्ण एकता भएपनि, स्थायी समितिले एकमत भएर तपाई रहीरहनुस भने पनि, जतिसूकै उहाँले दम्भ गरेपनि फाइफुर्ती देखाए पनि उहाँलाई अलिकति काम गर्नपनि गाहो भएको छ। प्रधानमज्त्री बन्नका लागि कम्तिमा १४ घण्टा खटनुपर्दछ भनेर मैले पहिले पनि भनेको हुँ। तर सक्नु हुन्न गाह्रो छ। ठूलो इज्जत कमाउनु भएको छ । हिजोका मितिसम्म । उहाँ कै नारा, उपलब्धी बेचेर नेकपा सत्तामा आएको छ।’

प्रचण्डलाई अफ्ठेरो परिस्थितिमा शरण नै दिएको गिरिले दाबी गरे। उनले भने, ‘प्रचण्डलाई एकप्रकारले कठिन अवस्थामा शरण नै दिनु भएको हो ओलीजीले । सबै इज्जतलाई हेरेर । मानिसको जीवन क्षणभंगुर छ । एकसय बर्ष बाँचेर पनि माथि जानु पर्दछ । उहाँको सतायू आयू होस । तर म मित्रको हैसितले भन्छु, कुनै सांसदको हैसियतले भनेको होइन, मित्रको हैसियतले भन्छु अव उहाँले छोड्नु पर्दछ । इनफ इज इनफ।’

‘ओलीले आफूले मात्र सक्छु भन्नु उहाँले आफूले आफैलाई ठग्दै हुनुहुन्छ।’ उनले भने, ‘उहाँले संविधानकै विरोध गरेजस्तो भयो । उहाँले तीन करोड जनताको सामथ्यमाथि विश्वास गर्नु पर्दछ । भारतले मिचेको जग्गा फिर्ता लिने विषय भनेको तीन करोड नेपालीको साझा सामथ्र्यको विषय हो । त्यो प्रधानमन्त्री एक्लैको विषय होइन । उहाँ एक्लैले गर्न सक्ने विषय होइन । अरु कसैले पनि एक्लै गर्नसक्ने कुरा होइन । सबै नेपाली जुरुक्क उठेर गर्ने कुरा हो।’

‘मेरो प्रधानमन्त्री ओलीसंग धेरै लामो समयदेखि राम्रो सम्बन्ध छ।’ गिरिले स्मरण गरे, ‘कमसेकम कम्यूनिष्टपार्टीका लाई थाहा छ । कम्यूनिष्ट पार्टीका मानिसले तपाईँ एकपटक प्रधानमन्त्रीसंग कुरा गर्नुस न भन्ने गरेका छन्। उहाँले मेरो अन्तर्वार्ता हेर्ने कृपा गर्नु भयो भने म उहाँ नजिक जानपनि सक्छु भोली पर्सी।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *